रौतहटको डिस्टिलरी उद्योगमा बोइलर विष्फोट, एकको मृत्यु, ६ घाइते

रौतहट, १२ पुष । रौतहट जिल्लाको कटहरिया नगरपालिकामा रहेको एक मदिरा उत्पादन गर्ने उद्योगमा बोइलर विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
कटहरिया नगरपालिका–९ स्थित ज्योती डिस्टीलरी उद्योगमा आज बिहान अचानक बोइलर विष्फोट भएको हो ।
विष्फोटमा परेर लक्ष्मण राय यादवको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक (एसपी) रविन कार्कीका अनुसार विष्फोटमा बिगन राय, बलिराम राय, रहमत मिया, कैलाश माली, प्रेमजित राय र जगदिश राय घाइते भएका छन् ।
घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको र उनीहरूलाई थप उपचारका लागि वीरगञ्ज पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
बिहान उद्योग सञ्चालनकै क्रममा अचानक ठूलो आवाजसहित बोइलर विष्फोट भएको बताइएको छ । घटनापछि उद्योग परिसरमा अफरातफरी मच्चिएको थियो ।
विष्फोटको कारणबारे अनुसन्धान भइरहेको र प्रहरी टोली घटनास्थलमै खटिएको एसपी कार्कीले जानकारी दिए ।
प्रहरीले उद्योगको सुरक्षाका मापदण्ड र बोइलरको प्राविधिक अवस्थाबारे समेत छानबिन अघि बढाएको जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


