जनकपुरधाम, ११ पुष । इच्छुक सांस्कृतिक प्रतिष्ठानले जनकपुरधाम उपमहानगरपालिका–१० निवासी प्रगतिवादी साहित्यकार, समालोचक तथा संस्कृतिकर्मी रोशन जनकपुरीलाई ‘तारा स्मृति पुरस्कार–२०८२’ प्रदान गर्ने निर्णय गरेको छ ।

प्रतिष्ठानका सदस्यसचिव मोदनाथ मरहट्टाद्वारा जारी गरिएको विज्ञप्तिमा यस वर्षको तारास्मृति पुरस्कार जनकपुरीलाई प्रदान गर्न लागिएको जनाइएको छ । उक्त पुरस्कारअन्तर्गत नगद एक लाख रुपैयाँ र सम्मानपत्र प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।

साहित्यिक नाम रोशन जनकपुरीबाट परिचित उनको वास्तविक नाम अरविन्द कुमार लाल हो । तीसको दशकदेखि कम्युनिस्ट आन्दोलनमा सक्रिय रहेका जनकपुरी विगत साढे चार दशकदेखि समाजवादी यथार्थवादी साहित्यिक धारामा निरन्तर कलम चलाउँदै आएका छन् ।

उनले मैथिली तथा नेपाली भाषामा कविता, कथा, निबन्ध, समालोचना साथै राजनीतिक र दार्शनिक विषयमा समेत सशक्त लेखन गर्दै आएका छन् ।

नेकपा माओवादीको नेतृत्वमा सञ्चालित महान् जनयुद्धका क्रममा सङ्गठित रूपमा राजनीतिक तथा सांस्कृतिक आन्दोलनको नेतृत्व गरेका जनकपुरीले सर्वहारा वर्गको मुक्तिका पक्षमा पत्रकारितामार्फत पनि योगदान पुर्याएका थिए ।

दीर्घकालीन साहित्यिक साधना, प्रगतिवादी चेतना र सांस्कृतिक आन्दोलनमा पुर्याएको योगदानको कदरस्वरूप उनलाई यस वर्षको तारा स्मृति पुरस्कार प्रदान गर्न लागिएको प्रतिष्ठानले जनाएको छ ।