आठौँ शहीद राम विवेक क्रिकेट प्रतियोगिताको उद्घाटन

महोत्तरी, ११ पुष । महोत्तरी गाउँपालिका–२ स्थित रामदरश सर्वोदय माध्यमिक विद्यालयको खेल मैदानमा शुक्रबार आठौँ शहीद राम विवेक क्रिकेट प्रतियोगिताको भव्य उद्घाटन गरिएको छ ।
मधेश प्रदेश सभा सदस्य सुरिता साहले प्रमुख अतिथिको रूपमा प्रतियोगिताको उद्घाटन गरेकी हुन् ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै सांसद साहले वीर शहीद राम विवेक यादवको बलिदान स्मरण गर्दै खेलकुद अनुशासन, एकता र सकारात्मक सोचको माध्यम भएको बताइन ।
उनले भनिन्,’यस्ता प्रतियोगिताले युवालाई कुलत र नकारात्मक बाटोबाट टाढा राख्दै राष्ट्र निर्माणमा जिम्मेवार नागरिक बन्न प्रेरित गर्छ । शहीदहरूको सपना साकार पार्न युवालाई खेलकुद र शिक्षामा जोड्नु आजको आवश्यकता हो ।’
सांसद साहले मधेश प्रदेशमा खेलकुद पूर्वाधार विकास र प्रतिभावान खेलाडीलाई प्रोत्साहन गर्न प्रदेश सरकारले निरन्तर ध्यान दिइरहेको उल्लेख गर्दै स्थानीय तह, विद्यालय र समुदायको सहकार्यले यस्ता प्रतियोगिता अझ प्रभावकारी हुने बताइन् ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, खेलप्रेमी तथा ठूलो संख्यामा दर्शकहरूको उपस्थिति रहेको थियो । प्रतियोगिताको उद्घाटन खेल महोत्तरी रतवारा टिमबीच सम्पन्न भएको छ ।
आयोजकका अनुसार प्रतियोगिताले स्थानीय खेलाडीको प्रतिभा उजागर गर्नुका साथै सहिदप्रति सम्मान र सामाजिक एकता मजबुत बनाउने उद्देश्य राखेको छ ।




तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


