जनकपुरधाम, ११ पुष । बंगलादेशमा हिन्दु युवा दिपुचन्द्र दासको बर्बरतापूर्ण हत्या भएको घटनाको विरोधमा शुक्रबार जनकपुरधाममा महिला अभियानीहरूको नेतृत्वमा शान्तिपूर्ण विरोध प्रदर्शन गरिएको छ ।

मानवअधिकार, धार्मिक सहिष्णुता र अल्पसंख्यकको सुरक्षाको पक्षमा आवाज उठाउँदै महिला अधिकारकर्मी, सामाजिक अभियानीको उल्लेख्य सहभागितामा प्रदर्शन सम्पन्न भएको हो ।

शान्तिपूर्ण र्‍याली जनकपुरधामका विभिन्न चोक तथा सडकको परिक्रमा गर्दै जनकचोकमा पुगेर सम्पन्न भयो । सहभागीहरूले धार्मिक हिंसा बन्द गर, अल्पसंख्यकको सुरक्षा सुनिश्चित गर, मानवता माथिको आक्रमण स्वीकार्य छैनलगायतका नारा लगाउँदै बंगलादेशमा अल्पसंख्यक हिन्दुहरूमाथि भइरहेको हिंसाप्रति आक्रोश व्यक्त गरे ।

प्रदर्शनमा सहभागी महिला अभियानी विन्दु ठाकुरले दिपुचन्द्र दासको हत्या केवल एक व्यक्तिमाथिको अपराध मात्र नभई समग्र मानवता र सभ्य समाजमाथिको गम्भीर प्रहार भएको बताइन् ।

‘जहाँ अल्पसंख्यकमाथि हिंसा हुन्छ, त्यहाँ महिलाहरू, बालबालिका र कमजोर समुदाय सबैभन्दा बढी जोखिममा पर्छन्,’ उनले भनिन्, ‘धर्मको नाममा हुने यस्तो बर्बरता मानवअधिकारको ठाडो उल्लङ्घन हो । यसविरुद्ध महिला अभियानीहरू सडकमा उत्रिन बाध्य भएका हौं ।’

अभियानी विभा ठाकुरले धार्मिक सहिष्णुता र शान्तिपूर्ण सहअस्तित्व जोगाउन अन्तर्राष्ट्रिय समुदायको सक्रिय भूमिका आवश्यक रहेको औँल्याइन् ।

‘आज एक देशमा भएको हिंसा भोलि अर्को समाजका लागि पनि खतरा बन्न सक्छ,’ उनले भनिन्, ‘दिपुचन्द्र दासको हत्या विश्वव्यापी मानवअधिकारको सवाल हो । अन्तर्राष्ट्रिय समुदायले गम्भीर चासो देखाएर दोषीलाई कारबाहीको दायरामा ल्याउन दबाब दिनुपर्छ ।’

प्रदर्शनका क्रममा वक्ताहरूले बंगलादेशमा पटक पटक अल्पसंख्यक लक्षित हिंसाका घटनाहरू भइरहँदा पनि सम्बन्धित निकाय मौन बस्नु गम्भीर चिन्ताको विषय भएको बताए ।

उनीहरूले यस्ता घटनालाई नजरअन्दाज गर्नुले हिंसालाई अझ प्रोत्साहन गर्ने चेतावनीसमेत दिए ।

महिला अभियानीहरूले नेपाल सरकारलाई कूटनीतिक माध्यमबाट बंगलादेश सरकारसँग औपचारिक रूपमा संवाद गरी त्यहाँका अल्पसंख्यक समुदायको सुरक्षा सुनिश्चित गर्न पहल गर्न आग्रह गरे ।

साथै, मानवअधिकारको संरक्षण र धार्मिक सहिष्णुताको प्रवर्द्धनका लागि राज्यस्तरमै स्पष्ट र प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने उनीहरूको माग थियो ।

प्रदर्शनमा सहभागी वक्ताहरूले शान्ति, मानवता र सहअस्तित्वको पक्षमा दृढतापूर्वक उभिनुपर्ने आवश्यकता औँल्याउँदै यदि यस्ता हिंसात्मक घटनाहरू तत्काल नरोकिए शान्तिपूर्ण आन्दोलनलाई अझ सशक्त र निरन्तर बनाइने चेतावनी दिए ।

महिला अभियानीहरूले दिवंगत दिपुचन्द्र दासप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारप्रति गहिरो समवेदना व्यक्त गरे ।

उनीहरूले आगामी दिनमा पनि यस्ता अमानवीय घटनाविरुद्ध निरन्तर आवाज उठाइरहने, धार्मिक सहिष्णुता, मानवअधिकार र शान्तिको पक्षमा सक्रिय भूमिका खेलिरहने प्रतिबद्धता व्यक्त गरेका छन् ।