जनकपुरधाम, १० पुष । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले धनौजी गाउँपालिका–५ बहुअर्बामा जनसंवाद कार्यक्रमको आयोजना गरेको छ ।

स्थानीय जनतासँग प्रत्यक्ष संवाद गर्ने उद्देश्यले आयोजित कार्यक्रममा लोसपा नेपालका केन्द्रीय महासचिव तथा धनुषा निर्वाचन क्षेत्र नं.–३ बाट सिफारिश भएका उम्मेदवार परमेश्वर साह प्रमुख अतिथिको रूपमा सहभागी थिए ।

जनसंवादका क्रममा स्थानीयवासीहरूले शिक्षा, स्वास्थ्य, सडक, रोजगारी तथा सुशासनका विषयमा आफ्ना समस्या र सुझावहरू राखेका थिए ।

सो अवसरमा केन्द्रीय महासचिव साहले मधेशका जनताको हकहित, पहिचान र अधिकारका लागि लोसपा नेपाल निरन्तर संघर्षरत रहेको उल्लेख गर्दै जनताको आवाजलाई नीति तथा कार्यक्रममा प्राथमिकताका साथ उठाइने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा लोसपा धनुषाका जिल्ला अध्यक्ष जीबेन्द्र झा, जिल्ला सदस्य कलाशो देवी महरा, औरही गाउँपालिकाका अध्यक्ष रमन ठाकुर, रामकुमार चौधरी, वडा सदस्य रोशन मिश्रा र नागेन्द्र साह, उपाध्यक्ष प्रत्याशी रञ्जिता मण्डललगायत पार्टीका अगुवा नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।