जनकपुरधाम, १० पुष । बंगलादेशमा हिन्दु युवा दिपुचन्द्र दासको बर्बरतापूर्ण हत्या भएको घटनाको विरोधमा रामानन्दीय वैष्णव संघको अगुवाइमा बिहीबार जनकपुरधाममा विरोध प्रदर्शन गरिएको छ ।

उक्त घटनालाई अमानवीय, धर्मको आडमा गरिएको मानवता विरोधी अपराधको संज्ञा दिँदै संघले शान्तिपूर्ण र्‍यालीमार्फत आक्रोश जनाएको हो ।

जानकी मन्दिरको प्राङ्गणबाट सुरु भएको विरोध र्‍याली जनकपुरधामका विभिन्न स्थानको परिक्रमा गर्दै शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।

र्‍यालीमा साधुसन्त, धार्मिक अगुवा, सामाजिक अभियन्ता तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो ।

सहभागीहरूले बंगलादेशमा अल्पसंख्यक हिन्दुहरूमाथि भइरहेको हिंसा तत्काल रोक्नुपर्ने मागसहित विभिन्न नारा लगाएका थिए ।

संघका अध्यक्ष तथा जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले दिपुचन्द्र दासको हत्या कुनै एक व्यक्तिमाथिको मात्र आक्रमण नभई समग्र मानव मूल्य, धार्मिक सहअस्तित्व र अल्पसंख्यक अधिकारमाथिको खुला प्रहार भएको बताए ।

प्रदर्शनलाई सम्बोधन गर्दै उनले बंगलादेशमा पटक पटक हिन्दु अल्पसंख्यक लक्षित हिंसाका घटनाहरू भइरहँदा पनि सम्बन्धित निकाय मौन बस्नु गम्भीर चिन्ताको विषय भएको उल्लेख गरे ।

महन्थ दासले बंगलादेशमा अल्पसंख्यक हिन्दुहरूमाथि भइरहेको हिंसा अन्तर्राष्ट्रिय मानवअधिकारको गम्भीर उल्लङ्घन भएको भन्दै दोषीमाथि कडा कारबाही हुनुपर्ने माग गरे ।

साथै, नेपाल सरकारले कूटनीतिक पहल गर्दै बंगलादेश सरकारसँग औपचारिक रूपमा कुरा उठाई अल्पसंख्यकको सुरक्षा सुनिश्चित गर्न दबाब दिनुपर्ने उनको आग्रह थियो ।

प्रदर्शनमा सहभागी वक्ताहरूले धार्मिक सहिष्णुता, मानवता र शान्तिको पक्षमा दृढतापूर्वक उभिनुपर्ने आवश्यकता औँल्याउँदै अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन शान्तिपूर्ण आन्दोलनलाई निरन्तरता दिने चेतावनीसमेत दिएका छन् ।

महन्थ दासले यदि बंगलादेशमा हिन्दुहरूमाथि भइरहेका आक्रमण तत्काल रोकिएनन् भने हिन्दु समाज, साधुसन्त तथा धार्मिक संघसंस्थाहरू थप सशक्त आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिए ।

रामानन्दीय वैष्णव संघले दिपुचन्द्र दासप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरेको छ । संघले आगामी दिनमा पनि यस्ता अमानवीय घटनाविरुद्ध निरन्तर आवाज उठाइरहने र धार्मिक सहअस्तित्व तथा मानवअधिकारको रक्षा लागि सक्रिय रहने प्रतिबद्धता जनाएको छ ।