परम्परा जोगाउँदै पर्यावरण संरक्षणतर्फ प्रेरित तुलसी पूजन पर्व

जनकपुरधाम, १० पुष । आज विश्वभरका हिन्दू धर्मावलम्बीहरूले श्रद्धा, भक्ति र आस्थासहित तुलसी पूजन दिवस मनाइरहेका छन् ।
प्रत्येक वर्ष २५ डिसेम्बरमा मनाइने यो पर्व यस वर्ष पनि नेपालसहित भारत तथा विश्वका विभिन्न देशहरूमा रहेका हिन्दू समुदायले घरघर र मन्दिरहरूमा विधिपूर्वक तुलसीको पूजा आराधना गरी मनाएका छन् ।
हिन्दू धर्ममा तुलसीको बिरुवालाई अत्यन्त पवित्र मानिन्छ । तुलसीलाई देवी लक्ष्मीको अवतार तथा देवी वृन्दाका रूपमा पूजा गर्ने परम्परा रहँदै आएको छ ।
धार्मिक मान्यताअनुसार जहाँ तुलसीको नियमित पूजा गरिन्छ, त्यहाँ सुख, समृद्धि, शान्ति र सकारात्मक ऊर्जाको वास हुन्छ ।
भगवान विष्णुलाई तुलसी अति प्रिय भएकाले विष्णु पूजा तुलसी बिना अधूरो मानिन्छ ।
जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले भने, ‘तुलसी केवल एउटा बिरुवा मात्र नभई यो हाम्रो सनातन संस्कृतिको आत्मा हो । तुलसी पूजनले मानिसलाई धर्म, अनुशासन र शुद्ध जीवनतर्फ प्रेरित गर्छ । जहाँ तुलसीको सम्मान हुन्छ, त्यहाँ ईश्वरको कृपा र सकारात्मक चेतनाको प्रवाह हुन्छ ।’
महन्थ दासले आजको आधुनिक जीवनशैलीमा धार्मिक परम्परासँगै स्वास्थ्य र वातावरणको महत्व बुझ्न आवश्यक रहेको बताए ।
‘आजको पुस्ताले तुलसी पूजनलाई केवल परम्पराका रूपमा मात्र नभई स्वास्थ्य र पर्यावरण संरक्षणसँग जोडेर बुझ्न जरुरी छ । तुलसीले वातावरण शुद्ध राख्नुका साथै मानव स्वास्थ्यका लागि पनि अमूल्य योगदान पुर्याउँछ,’ उनले भने ।

तुलसी पूजन दिवस धार्मिक आस्थासँगै पर्यावरण संरक्षण र स्वास्थ्य चेतना फैलाउने अवसरका रूपमा समेत लिइन्छ । वैज्ञानिक दृष्टिकोणले तुलसीको बिरुवाले हावामा अक्सिजनको मात्रा बढाउने, जीवाणु नाश गर्ने र विभिन्न रोगहरूको उपचारमा सहयोग पुर्याउने गुण रहेको प्रमाणित भइसकेको छ ।
आयुर्वेदमा तुलसीलाई ज्वरो, रुघाखोकी, दम, मधुमेहलगायत रोगको औषधीय जडीबुटीका रूपमा प्रयोग गरिँदै आएको छ ।
महन्थ दासले भने, ‘आज जब विश्व जलवायु परिवर्तन र प्रदूषणको गम्भीर संकटमा छ, त्यतिबेला तुलसीजस्ता पवित्र र उपयोगी बिरुवाको संरक्षण गर्नु हाम्रो धार्मिक मात्र नभई सामाजिक दायित्व पनि हो ।’
तुलसी पूजन दिवसले विशेषगरी बालबालिका र युवापुस्तालाई आफ्नो संस्कार, संस्कृति र परम्पराप्रति जागरुक गराउने काम गरेको छ ।
घरघरमा तुलसी, मठमा दीप प्रज्वलन, पूजा अर्चना र भजन कीर्तन गरी यो पर्व मनाउने परम्परा अझै पनि जीवित रहेको देखिन्छ ।
महन्थ दासले सबैलाई तुलसी पूजनको वास्तविक अर्थ बुझी दैनिक जीवनमा त्यसको अभ्यास गर्न आग्रह गरेका छन् ।
उनले भने, ‘तुलसीको संरक्षण भनेको हाम्रो संस्कृति, स्वास्थ्य र भविष्यको संरक्षण हो । त्यसैले हरेक घरमा तुलसी रोपौं, पूजा गरौं ।’

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


