जनकपुरधाम, १० पुष । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र मैथिली विकास कोषबीच सहकार्य नवीकरण गरिएको छ।

प्रतिष्ठान र कोषबीच चित्रकला, मूर्तिकला, लोककला, हस्तकला, शिल्पकला, वास्तुकलालगायत विविध सिर्जनात्मक कला विधाको प्रवर्द्धन, संरक्षण र विकासका लागि दोस्रो वर्षका लागि पनि सहकार्य नवीकरण गरिएको हो ।

मधेश प्रदेशका विभिन्न जिल्लामा कला संस्कृति सुदृढीकरण गर्ने उद्देश्यसहित गरिएको उक्त सहकार्य सम्झौतामा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमुनि हार्तामाछनी र सदस्य सचिव देवेन्द्र थुम्केलीको नेतृत्वकारी भूमिका रहेको बताइएको छ ।

सम्झौता नवीकरण प्रक्रियामा सहकार्यलाई प्रभावकारी बनाउन महत्वपूर्ण समन्वय भूमिका निर्वाह गरेका एस.सी. सुमन र कुमार भास्करको योगदानको समेत सरोकारवालाहरूले प्रशंसा गरेका छन् ।

दुवै संस्थाबीचको निरन्तर सहकार्यले मिथिला र समग्र मधेशको मौलिक कला संस्कृतिको संरक्षणसँगै नयाँ पुस्तालाई सिर्जनात्मक क्षेत्रमा आकर्षित गर्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पहिचान दिलाउने विश्वास लिइएको मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीले बताए ।