जनकपुरधाम, ९ पुष । पाँचौँ अन्तरविद्यालय क्रिकेट प्रतियोगितामा मदर टेरेसा पब्लिक स्कुलले याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय ज्ञानकुपलाई ११४ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

रंगभूमि मैदानमा सम्पन्न उद्घाटन खेलमा टस जितेर पहिले ब्याटिङ गरेको मदर टेरेसाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८३ रनको बलियो योगफल तयार पारेको थियो ।

मदर टेरेसाका किशन साहले ५० रनको आकर्षक अर्धशतकीय प्रदर्शन गरे भने मनीष महतोले ४२ रन थपे ।

ज्ञानकुपका सचिनले बलिङतर्फ १ विकेट लिए । तर, उनलाई ४१ रन खर्च गर्नु परेको थियो ।

१८४ रनको लक्ष्य पछ्याएको ज्ञानकुपले मात्र ६९ रनमा अलआउट भई हार बेहोर्नु परेको छ ।

टोलीका लागि ललित मण्डलले सर्वाधिक १५ रन बनाएका थिए भने किशनले १० रन जोडेका थिए ।

मदर टेरेसाका बलर मनीष महतोले ९ रन खर्चेर ३ विकेट लिएर उत्कृष्ट प्रदर्शन गरे भने किशन साहले १९ रन खर्चेर २ विकेट लिएर बलिङमा पनि टोलीलाई योगदान पुर्‍याए ।