शीतलहरको जोखिम बढ्दै, महोत्तरी प्रशासनद्वारा सावधानी अपनाउन आग्रह

जनकपुरधाम, ९ पुष । महोत्तरी जिल्ला लगायत सम्पूर्ण तराई क्षेत्रमा विगत केही दिनदेखि शीतलहर र अत्यधिक चिसो बढ्दै जाँदा जनजीवन प्रभावित हुने सम्भावना बढेको छ ।
चिसोका कारण बालबालिका, वृद्धवृद्धा, सुत्केरी महिला तथा विपन्न वर्ग बढी जोखिममा पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय महोत्तरीले जिल्लावासीहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनामा शीतलहरको समयमा सावधानी नअपनाए स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै सबैलाई सचेत रहन अनुरोध गरिएको छ ।
प्रशासनले बाहिर निस्कँदा बाक्लो र न्यानो लुगा लगाउन, टाउको र छाती जोगाउन टोपी तथा मफलरको प्रयोग गर्न आग्रह गरेको छ ।
विशेषगरी बालबालिका, वृद्धवृद्धा र सुत्केरी महिलाको स्वास्थ्यमा थप ध्यान दिनुपर्ने प्रशासनको भनाइ छ ।
सूचनामा सकेसम्म तातो तथा झोलिलो पोसिलो खानेकुरा खान र मनतातो पानीको सेवन गर्न सुझाव दिइएको छ ।
आगो वा हिटर बालेर बस्दा पर्याप्त हावा ओहोरदोहोर हुने स्थान रोज्न प्रशासनले आग्रह गरेको छ ।
त्यसैगरी, पशुचौपायालाई समेत चिसोबाट जोगाउन सुरक्षित र न्यानो गोठको व्यवस्था गर्न पशुपालक किसानहरूलाई आग्रह गरिएको छ ।
चिसोका कारण ज्वरो, रुघाखोकी, स्वासप्रश्वासमा समस्या वा अन्य कुनै स्वास्थ्य समस्या देखिएमा ढिलाइ नगरी नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न प्रशासनले अनुरोध गरेको छ ।
शीतलहर वा अन्य कुनै आकस्मिक विपद्को तत्काल सम्बोधनका लागि आवश्यक परेमा प्रहरी कन्ट्रोलरुमको सम्पर्क नम्बर १०० मा फोन गर्न सकिने प्रशासनले जनाएको छ । साथै, सहायक प्रमुख जिल्ला अधिकारीको सम्पर्क नम्बर ९८५४०१०७७७, सम्बन्धित क्षेत्रका नगर प्रमुख वा गाउँपालिका अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, नजिकको प्रहरी कार्यालय तथा जनप्रतिनिधिसँग निरन्तर सम्पर्कमा रहन पनि आग्रह गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीले शीतलहरको यो कठिन समयमा सबैले सावधानी अपनाई सुरक्षित रहन अनुरोध गरेको छ ।
यसैबीच, डिभिजन वन कार्यालयसँगको समन्वयमा सम्बन्धित स्थानीय तहहरू मार्फत विपन्न तथा आवश्यक परिवारलाई सहुलियत दरमा दाउरा वितरण गर्ने कार्यका लागि पहल भइरहेको जानकारी पनि प्रशासनले दिएको छ ।
प्रशासनले चिसो अझै केही दिन जारी रहने सम्भावना रहेकाले लापरवाही नगरी सतर्कता अपनाउन र आपतकालीन अवस्थामा तुरुन्त सम्बन्धित निकायलाई जानकारी गराउन जिल्लावासीहरूलाई आग्रह गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


