पाँचौँ अन्तरविद्यालय क्रिकेट प्रतियोगिता बुधबारदेखि जनकपुरधाममा, २४ विद्यालयबीच प्रतिस्पर्धा

जनकपुरधाम, ८ पुष । जनकपुरधाममा विद्यालयस्तरका खेलाडीको प्रतिभा पहिचान र क्रिकेटको विकासलाई लक्षित गर्दै पाँचौँ अन्तरविद्यालय क्रिकेट प्रतियोगिता बुधबारदेखि सुरु हुन लागेको छ ।
स्थानीय रंगभूमी मैदानमा जनकपुर स्पोर्ट्स क्लब र न्यू भिजन नेपालको संयुक्त आयोजनामा प्रतियोगिता सञ्चालन हुन लागेको हो ।
प्रतियोगिताको पूर्वसन्ध्यामा मंगलबार जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साह र उपमहानगरपालिकामा कार्यरत सफाइ कर्मचारी सिताराम मेस्तरले संयुक्त रूपमा ट्रफी अनावरण गरेका छन् ।
ट्रफी अनावरण कार्यक्रममा समाजका सबै वर्ग र पेशाप्रति समान सम्मानको सन्देश प्रवाह गर्न जनप्रतिनिधि र कर्मचारीलाई सहभागी गराइएको आयोजकले जनाएको छ ।
राष्ट्रिय क्रिकेट खेलाडी हरिशंकर साहले समाज रूपान्तरणका लागि खेललाई माध्यम बनाउँदै सम्मान, समावेशिता र समानताको सन्देश व्यवहारमै लागू गर्न ट्रफी अनावरण कार्यक्रम फरक ढंगले आयोजना गरिएको बताए ।
उनका अनुसार प्रतियोगितामा जनकपुरधामसहित आसपासका २४ वटा विद्यालयका टिमले सहभागिता जनाउनेछन् ।
प्रतियोगिताको उद्घाटन खेल बुधबार मदर टेरेसा स्कुल र याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय ज्ञानकुपबीच हुनेछ । विगत वर्ष सम्पन्न भएको यही प्रतियोगिताको उपाधि मदर टेरेसाले जितेको थियो ।
आयोजक संस्थाका प्रतिनिधि प्रशान्त अरवीन्दले विद्यालयस्तरबाटै खेल र खेलाडीको विकास गर्नु प्रतियोगिताको मुख्य उद्देश्य रहेको बताए ।
‘स्थानीय स्तरमै खेलाडी उत्पादन गर्ने, उनीहरूलाई प्रतिस्पर्धात्मक वातावरण दिने र दीर्घकालीन रूपमा राष्ट्रिय स्तरसम्म पुर्याउने लक्ष्यसहित हरेक वर्ष प्रतियोगिता आयोजना गर्दै आएका छौँ,’ उनले भने ।
प्रतियोगिताका खेलहरू बाह्रविघा मैदानमा तय तालिकाअनुसार सञ्चालन हुने आयोजकले जनाएको छ ।
खेलप्रेमी दर्शक, अभिभावक तथा सरोकारवालालाई खेल हेरेर विद्यालयस्तरका खेलाडीलाई हौसला प्रदान गर्न पनि आयोजकले आग्रह गरेको छ ।










तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


