जनकपुरधाममा दर्ताविना सञ्चालित एक अस्पतालसहित चार औषधी पसल सिल

जनकपुरधाम, ७ पुष । सरकारले तोकेको मापदण्डविपरीत दर्ता नगरी तथा अवैध रूपमा सञ्चालनमा रहेका एक निजी अस्पतालसहित चार वटा औषधी पसलमाथि कारबाही प्रक्रिया अघि बढाइएको छ ।
औषधी व्यवस्था विभागको वीरगंज कार्यालयले जनकपुरधाम उपमहानगरपालिका र धनुषा जिल्लाका विभिन्न स्थानमा गरेको अनुगमन तथा छड्के निरीक्षणका क्रममा स्वास्थ्य सेवा तथा औषधी व्यवसाय सञ्चालनमा गम्भीर लापरबाही भेटिएपछि सम्बन्धित अस्पताल र औषधी पसललाई सिल गरी कारोबार रोक्का गरिएको हो ।
कार्यालय प्रमुख शम्भु साहका अनुसार जनकपुरधामको रामानन्द चौकमा सञ्चालित जनकपुर सुरक्षा अस्पताल तथा फार्मेसी, बजरङ्ग चौकस्थित प्रशान्त मेडिकल हल, माछा बजारमा रहेको राघव सर्जिकल पसल तथा वीरेन्द्र बजारस्थित कम्युनिटी सर्भिस अस्पताललाई सिल गरिएको छ ।
यी सबै संस्थाहरू सरकारले तोकेको कानुनी प्रक्रिया पूरा नगरी सञ्चालनमा रहेको पाइएको प्रमुख साहले जानकारी दिए ।
अनुगमनका क्रममा औषधी बिक्री वितरणका लागि अनिवार्य मानिने फार्मासिस्टको उपस्थिति, दर्ता प्रमाणपत्र, भण्डारण व्यवस्था तथा औषधीको गुणस्तरसम्बन्धी मापदण्ड पालना नगरिएको पाइएको थियो ।
कतिपय स्थानमा चिकित्सकको सिफारिसबिनै औषधी बिक्री भइरहेको र अस्पतालले समेत न्यूनतम स्वास्थ्य सेवा मापदण्ड पूरा नगरेको भेटिएको जनाइएको छ ।
औषधी व्यवस्था विभागले निजी अस्पतालसहित करिब दुई दर्जन औषधी पसलको अनुगमन गरेको थियो । त्यसमध्ये ११ वटा औषधी पसलमा फार्मासिस्ट नरहेको, म्याद तथा गुणस्तरबारे कुनै मापदण्ड नअपनाई आफूखुसी औषधी बिक्री वितरण गरिएको पाइएपछि पहिलो चरणमा चेतावनी दिइएको प्रमुख साहले बताए । चेतावनीपछि पनि सुधार नआए कडा कारबाही गरिने उनले स्पष्ट पारे ।
कार्यालयका अनुसार जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने औषधी तथा अस्पताल सेवा जथाभावी सञ्चालन हुनु गम्भीर विषय भएकाले यस्ता गतिविधिमाथि निगरानी थप कडा बनाइनेछ ।
अवैध रूपमा सञ्चालन हुने अस्पताल र औषधी पसलले सर्वसाधारणको स्वास्थ्यमा जोखिम बढाउने भएकाले आगामी दिनमा नियमित अनुगमन र कानुनी कारबाहीलाई निरन्तरता दिइने विभागको भनाइ छ ।
स्थानीयवासीले भने पछिल्लो समय जनकपुरधामसहित धनुषामा बिना मापदण्ड खुलेका अस्पताल र औषधी पसलको संख्या बढ्दै गएको भन्दै नियमित अनुगमन र कडाइ आवश्यक रहेको बताएका छन् ।
उनीहरूले स्वास्थ्य क्षेत्रको नियमन प्रभावकारी बनाउन सम्बन्धित निकायलाई थप सक्रिय हुन माग गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


