जानकी मन्दिर प्राङ्गणमा ऐतिहासिक ध्यान कार्यक्रम, ‘स्वच्छ जनकपुर’ अभियानको आह्वान

जनकपुरधाम, ६ पुष । संयुक्त राष्ट्र संघद्वारा मान्यता प्राप्त विश्व ध्यान दिवसको अवसरमा द आर्ट अफ लिभिङ जनकपुरधामको आयोजनामा जानकी मन्दिरको प्राङ्गणमा विशेष ध्यान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।
धार्मिक आस्था, आध्यात्मिक अभ्यास र सामाजिक सन्देशलाई एकै थलोमा जोड्ने उद्देश्यसहित आयोजना गरिएको उक्त कार्यक्रमले जनकपुरधाममा ध्यान, शान्ति र स्वच्छताको नयाँ सन्देश फैलाएको आयोजकको विश्वास छ ।
बिहान ७ः०० बजेदेखि ८ः३० बजेसम्म सञ्चालन भएको कार्यक्रममा द आर्ट अफ लिभिङका वरिष्ठ प्रशिक्षक गुरुदेव ब्रह्मचारी चैतन्य तथा शैलेन्द्र हमालको नेतृत्वमा सामूहिक ध्यान अभ्यास गराइएको थियो ।
मन्दिर परिसरमा आयोजित ध्यान कार्यक्रममा सहभागीहरूले आध्यात्मिक शान्ति, मानसिक सन्तुलन र सकारात्मक ऊर्जाको अनुभव गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै ब्रह्मचारी चैतन्यले जनकपुरधामको स्वच्छता र सौन्दर्यप्रति विशेष जोड दिए । उनले जनकपुरधाम माता जानकीको पवित्र जन्मभूमि भएको उल्लेख गर्दै भने, ‘देवीको घर सधैं स्वच्छ, सुन्दर र पवित्र हुनुपर्छ । केवल भाषण र नाराले मात्र नभई ठोस कार्यबाट मात्रै वास्तविक परिवर्तन सम्भव हुन्छ ।’ उनले जनकपुरवासीहरूलाई आ–आफ्नो जिम्मेवारी बोध गर्दै व्यवहारमै स्वच्छताको अभ्यास गर्न आग्रह गरे ।

यसै क्रममा उनले ‘स्वच्छ जनकपुर अभियान’ लाई सफल बनाउन सम्पूर्ण नागरिक, गैरसरकारी संस्था, सामाजिक तथा आध्यात्मिक संघसंस्थाहरूलाई एकजुट भएर अघि बढ्न आह्वान गरे ।
स्वच्छता सरकारको मात्र दायित्व नभई हरेक नागरिकको साझा जिम्मेवारी भएको स्पष्ट पार्दै उनले सेवामूलक अभियानमा सक्रिय सहभागिता जनाउन अनुरोध गरे । अभियानमा सहभागी हुन चाहने व्यक्ति तथा संस्थाहरूलाई नजिकको द आर्ट अफ लिभिङ केन्द्रमा सम्पर्क गर्न समेत उनले अपिल गरे ।
कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुईंटेल, सञ्चारकर्मी, विभिन्न शैक्षिक संस्थाका शिक्षक–विद्यार्थी, समाजसेवी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।

सहभागीहरूले ध्यान अभ्यासपछि मन हल्का, शान्त र सकारात्मक बनेको अनुभूति व्यक्त गर्दै यस्ता कार्यक्रम नियमित रूपमा हुनुपर्ने धारणा राखेका थिए ।
आयोजकले जनकपुरधामका विभिन्न विद्यालय तथा कलेजहरूमा सञ्चालन गरिएका निःशुल्क ध्यान सत्रहरू सफलतापूर्वक सम्पन्न भएको जानकारी पनि दिएका छन् ।
डिसेम्बर ५ देखि २१ सम्म सञ्चालन गरिएका ती सत्रहरू शंकर शिशु सदन इङ्लिस बोर्डिङ स्कुल, शुभतारा बोर्डिङ स्कुल, पुष्प बाटिका एजुकेशनल एकेडमी, जीवन ज्योति एकेडमी, मोडल पब्लिक स्कुल, हिमाली इङ्लिस बोर्डिङ स्कुल, मोडल मल्टिपल कलेज, न्यू भिजन रेसिडेन्सियल स्कुल, मोनास्टिक स्कुल, स्वस्तिक इङ्लिस बोर्डिङ स्कुल, वीरेन्द्र इन्स्टिच्युट अफ मेडिकल एन्ड डेन्टल टेक्नोलोजी, भद्रकाली बोर्डिङ स्कुल–७ तथा श्री जनता माध्यमिक विद्यालय श्रीपुरमा सम्पन्न भएका थिए ।

आयोजकका अनुसार नेपाल ध्यान र आन्तरिक आध्यात्मिक अभ्यासको ऐतिहासिक जन्मभूमि हो । भगवान गौतम बुद्धको जन्म लुम्बिनीमा भएको तथ्यले ध्यान, शान्ति र करुणालाई नेपालको सांस्कृतिक तथा आध्यात्मिक पहिचानसँग गहिरो रूपमा जोडेको छ । यही पृष्ठभूमिमा संयुक्त राष्ट्र संघले सन् २०२४ मा विश्व ध्यान दिवसलाई औपचारिक मान्यता दिएको थियो ।
संयुक्त राष्ट्र संघको मुख्यालयमा गुरुदेव रविशंकरको नेतृत्वमा सम्पन्न उद्घाटन कार्यक्रममा एकैसाथ १८० देशका ८५ लाखभन्दा बढी व्यक्तिहरूले ध्यान अभ्यास गर्दै गिनिज वल्र्ड रेकर्ड कायम गरेको तथ्यले ध्यानको विश्वव्यापी प्रभावलाई स्पष्ट पार्छ ।
सन् १९८१ मा स्थापना भएको द आर्ट अफ लिभिङ फाउन्डेसन हाल विश्वका १८० भन्दा बढी देशमा सक्रिय रहेको एक गैरनाफामूलक आध्यात्मिक, शैक्षिक तथा सामाजिक संस्था हो ।

संस्थाले हालसम्म ५० करोडभन्दा बढी मानिसलाई योग, ध्यान, मानसिक स्वास्थ्य, युवा नेतृत्व विकास तथा सामाजिक सेवाका कार्यक्रममार्फत लाभान्वित गरिसकेको छ । नेपालमा पनि विगत २५ वर्षदेखि संस्थाले निरन्तर योगदान दिँदै आएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


