मरणोपरान्त डा. जयवल्लभ दासलाई ‘विकास पुरुष मकेश्वर बाबु उत्कृष्ट समाजसेवा पुरस्कार’

जनकपुरधाम, ६ पुष । स्वास्थ्य क्षेत्रमार्फत समाजसेवामा उल्लेखनीय योगदान पुर्याएका स्वर्गीय डा. जयवल्लभ दासलाई मरणोपरान्त ‘विकास पुरुष मकेश्वर बाबु उत्कृष्ट समाजसेवा पुरस्कार–२०८२’ प्रदान गरिएको छ ।
विकास पुरुष मकेश्वर प्रसाद सिंहको १५औँ स्मृति दिवसको अवसरमा आयोजित श्रद्धाञ्जली सभाका बीच उक्त सम्मान प्रदान गरिएको हो ।
कार्यक्रममा पुरस्कारस्वरूप प्रदान गरिने नगद राशि र कदरपत्र डा. दासका छोरा ज्योतिष चन्द्र दासलाई हस्तान्तरण गरिएको थियो । सम्मान ग्रहण गर्दै दासले आफ्ना पिताले समाज र जनस्वास्थ्यको सेवामा गरेको योगदानको कदर गरिनु परिवारका लागि गौरवको विषय भएको बताए ।

वक्ताहरूले स्व. डा. जयवल्लभ दासले आफ्नो जीवनकालमा जनकपुरधाम र आसपासका क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न खेलेको भूमिकाको स्मरण गरे । सीमित स्रोतसाधनका बीच पनि निस्वार्थ भावनाले सेवा गरेको उदाहरणीय व्यक्तित्वका रूपमा डा. दासलाई सम्झना गरिनु पर्ने उनीहरूको धारणा थियो ।
त्यसैगरी, श्रद्धाञ्जली सभामा वक्ताहरूले विकास पुरुष मकेश्वर प्रसाद सिंहले यस भेगको शिक्षा, स्वास्थ्य, सामाजिक जागरण र विकासका क्षेत्रमा पुर्याएको योगदानको विस्तृत चर्चा गरे । मकेश्वर बाबुको नाममा स्थापित संस्थाले समाजसेवामा योगदान पुर्याएका व्यक्तित्वलाई मरणोपरान्तसमेत सम्मान गर्दै आएको कार्यलाई उनीहरूले सकारात्मक र प्रेरणादायी कदमका रूपमा मूल्याङ्कन गरे ।

श्रद्धाञ्जली सभाको अध्यक्षता संस्थाका अध्यक्ष रितेश सिंहले गरेका थिए । अध्यक्ष सिंहले संस्थाले सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राख्दै स्वास्थ्य, शिक्षा र समाजसेवामा योगदान पुर्याउने व्यक्तित्वहरूको सम्मानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
उनले स्व. मकेश्वर प्रसाद सिंह र स्व. डा. जयवल्लभ दासजस्ता व्यक्तित्वहरूको योगदान भावी पुस्ताका लागि प्रेरणाको स्रोत भएको बताए ।
श्रद्धाञ्जली सभामा समाजसेवी, बुद्धिजीवी, चिकित्सक, राजनीतिकर्मी तथा स्थानीय व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


