विश्व ध्यान दिवसमा मैथिली कृतिको लोकार्पण, पत्रकार झाको ‘युग युग सियागाम’ सार्वजनिक

जनकपुरधाम, ६ पुष । पत्रकार, कथाकार तथा साहित्यकारका रूपमा परिचित लेखक सुजित कुमार झाको मैथिली भाषामा लिखित १८औँ साहित्यिक कृति ‘युग युग सियागाम’ (गुरु–शिष्य संवाद) पुस्तक आइतबार बीच लोकार्पण गरिएको छ ।
विश्व ध्यान दिवसको अवसर पारेर जनकपुरधाममा आयोजित कार्यक्रममा पुस्तक सार्वजनिक गरिएको हो ।
लोकार्पण समारोहका प्रमुख अतिथि शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारी तथा विशिष्ट अतिथि जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासले संयुक्त रूपमा पुस्तक विमोचन गरेका थिए ।
कार्यक्रममा साहित्य, सञ्चार, शिक्षा, सामाजिक तथा राजनीतिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । पुस्तक लोकार्पणसँगै कृतिमाथि समालोचनात्मक चर्चा गरिएको थियो भने विश्व ध्यान दिवसको सन्दर्भमा ध्यान अभ्यास कार्यक्रमसमेत आयोजना गरिएको थियो ।

‘युग युग सियागाम’ गुरु–शिष्य संवादको शैलीमा लेखिएको कृति हो । यसमा जनकपुरधामको प्राचीन इतिहास, सांस्कृतिक पहिचान र आधुनिक परिवेशलाई साहित्यिक ढंगले प्रस्तुत गरिएको छ । कृतिले जनकपुरधामको समग्र चिनारीलाई नयाँ दृष्टिकोणबाट उजागर गरेको सहभागी वक्ताहरूले बताए ।
साहित्यकारहरूले मैथिली साहित्य क्षेत्रमा यो पुस्तक नयाँ उपलब्धिका रूपमा आएको उल्लेख गर्दै लेखक सुजित कुमार झाको साधना, निरन्तरता र मेहनतको प्रशंसा गरेका थिए ।
सहभागीहरूले लेखकप्रति धन्यवाद व्यक्त गर्दै ‘युग युग सियागाम’ ले मैथिली भाषा, साहित्य र जनकपुरधामको पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने विश्वास व्यक्त गरे ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


