जनकपुरधाम, ६ पुष । बङ्गलादेशको म्यामनसिंह जिल्लामा एक हिन्दु युवकलाई भ्रमपूर्ण आरोपमा कुटपिट गरी हत्या गरिएको तथा शव जलाइएको घटनाको विरोधमा जनकपुरधाममा युवाहरूले प्रदर्शन गरेका छन् ।

मानव अधिकार र अल्पसङ्ख्यकको सुरक्षाप्रति गम्भीर प्रश्न उठाउने उक्त घटनाविरुद्ध आक्रोशित युवाहरू सडकमा उत्रिँदै कडा विरोध जनाएका हुन् ।

जनकपुरधामको विभिन्न स्थानबाट भेला भएका युवाहरूले बङ्गलादेश सरकारविरुद्ध नाराबाजी गर्दै घटनामा संलग्न दोषीलाई कडा कारबाहीको माग गरेका थिए । प्रदर्शनका क्रममा उनीहरूले बङ्गलादेश सरकारको प्रतिकात्मक पुत्ला जलाएर विरोध जनाएका छन् ।

प्रदर्शनकारी युवाहरूले बङ्गलादेशमा हिन्दुहरू असुरक्षित बन्दै गएको आरोप लगाएका छन् । उनीहरूले त्यहाँ हिन्दुहरूमाथि लक्षित हिंसाका घटनाहरू बढ्दै गएपनि सरकार यस्ता घटनामा संलग्न अपराधीहरूमाथि प्रभावकारी कारबाही गर्न असफल देखिएको आरोप लगाए ।

प्रदर्शनमा सहभागी युवाहरूले म्यामनसिंह घटनालाई अमानवीय र निन्दनीय भन्दै अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनुपर्ने आवश्यकता औँल्याएका छन् ।

‘निर्दोष युवकलाई झुटा आरोपमा कुटपिट गरी हत्या गरेर शवसमेत जलाइनु गम्भीर मानव अधिकार उल्लंघन हो,’ एक प्रदर्शनकारीले भने, ‘यस्ता घटनामा मौन बस्नु अन्यायलाई प्रोत्साहन गर्नु बराबर हो ।’

युवाहरूले विरोध प्रदर्शनका क्रममा मुस्लिम आयोग नेपाल खारेज गरिनुपर्ने माग पनि उठाएका छन् । उनीहरूको दाबीअनुसार आयोगले अन्तरधार्मिक समन्वय र अल्पसङ्ख्यक अधिकारको संरक्षणमा प्रभावकारी भूमिका खेल्न नसकेको आरोप छ ।

प्रदर्शनकारीहरूले बङ्गलादेश सरकारलाई तत्काल घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन चेतावनी दिएका छन् । यदि समयमै न्याय नदिइए ठूलो र सशक्त आन्दोलन गर्न बाध्य हुने चेतावनीसमेत उनीहरूले दिएका छन् ।