मधेश भवनमा मनाइयो विश्व ध्यान दिवस, मुख्यमन्त्रीदेखि कर्मचारीसम्मको सहभागिता

जनकपुरधाम, ६ पुष । मधेश प्रदेश सरकारको आयोजनामा मधेश भवनमा विश्व ध्यान दिवस मनाइएको छ ।
मधेश भवनको कवर्ड हलमा आयोजित कार्यक्रममा मुख्यमन्त्री कृष्णप्रसाद यादवसहित प्रदेश सरकारका मन्त्रीहरू, विभिन्न राजनीतिक दलका नेताहरू, सचिव तथा मन्त्रालयका कर्मचारीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा ध्यानका अनुभवी प्रशिक्षक विश्वलाल सिंहले सहभागीहरूलाई ध्यान अभ्यास गराएका थिए । उनले ध्यानले मानसिक शान्ति, एकाग्रता र सकारात्मक सोच विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै दैनिक जीवनमा ध्यानको आवश्यकता र उपयोगिताबारे जानकारी दिएका थिए ।
ध्यान अभ्यासका क्रममा सहभागीहरूले केही समय मौन रहँदै श्वास–प्रश्वास र आत्मकेन्द्रित अभ्यास गरेका थिए । कार्यक्रममा सहभागीहरूले ध्यानले तनाव व्यवस्थापन र कार्यक्षमता अभिवृद्धिमा सहयोग पुग्ने अनुभव साझा गरेका थिए ।
संयुक्त राष्ट्रसंघको घोषणाअनुसार प्रत्येक वर्ष डिसेम्बर २१ तारिखलाई ‘विश्व ध्यान दिवस’का रूपमा मनाइँदै आएको छ । यस दिवसको उद्देश्य ध्यानको महत्वबारे जनचेतना फैलाउने र मानसिक स्वास्थ्यप्रति समाजको ध्यानाकर्षण गराउनु रहेको छ ।
प्रदेश सरकारले विश्व ध्यान दिवसको अवसरमा आयोजित कार्यक्रममा सरकारी तहबाटै ध्यान र मानसिक स्वास्थ्यप्रति चासो देखिनु सकारात्मक सन्देश भएको सहभागीहरूको भनाइ थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


