जनकपुरधाम, ६ पुष । मधेश प्रदेशसभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव निर्वाचित भएका छन् । आइतबार बसेको प्रदेशसभा बैठकमा मत विभाजन प्रक्रियामार्फत उनले सभामुखको जिम्मेवारी सम्हालेका हुन् ।

मत विभाजनमा यादवको पक्षमा ७२ मत परेको थियो भने विपक्षमा २४ मत खसेको थियो । बैठकमा कुल ९६ जना प्रदेशसभा सदस्य उपस्थित थिए । सातदलीय गठबन्धनका तर्फबाट सभामुखका उम्मेदवार बनेका यादवलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव नेपाली कांग्रेसका सांसद वीरेन्द्रप्रसाद सिंहले पेस गरेका थिए ।

प्रदेशसभामा आवश्यक बहुमत ५४ भन्दा बढी मत प्राप्त गरेपछि उपसभामुख बबिता राउत ईशरले यादव सभामुख निर्वाचित भएको औपचारिक घोषणा गरिन् । यादवको प्रस्ताव बहुमतले पारित भएपछि उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार त्रिलोकीप्रसाद यादवको प्रस्ताव प्रक्रिया अघि बढेन ।

सभामुख बनेका रामआशिष यादव धनुषा निर्वाचन क्षेत्र नं. २ (ख) बाट दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । यसअघि उनी जसपा नेपालको प्रमुख सचेतकको भूमिकामा रहेर प्रदेशसभामा सक्रिय देखिँदै आएका थिए । अब उनी मधेश प्रदेशको नीति निर्माण र संसदीय सञ्चालनको मुख्य जिम्मेवारीमा पुगेका छन् ।

शिक्षक र पत्रकारिताबाट राजनीतिसम्म
२०२६ साल चैत १५ गते धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१७ (साविक कनकपट्टी गाविस) मा जन्मिएका यादव शिक्षक र पत्रकारिता पृष्ठभूमिबाट राजनीतिमा आएका नेता हुन् । स्वर्गीय रामलखन यादव र दौलतिया देवीका १० सन्तानमध्ये कान्छा छोरा उनी कृषक परिवारमा हुर्किएका हुन् ।

स्नातक तहसम्म अध्ययन गरेका यादवले २०५० सालमा काभ्रेपलाञ्चोकको बागदेवी माध्यमिक विद्यालय, ज्याम्दीमा अंग्रेजी विषयको शिक्षकका रूपमा काम सुरु गरेका थिए । करिब अढाइ वर्ष शिक्षण पेसामा रहेपछि उनी पत्रकारितातर्फ आकर्षित भए ।

२०५४ सालमा रेडियो नेपालका धनुषा संवाददाताका रूपमा पत्रकारिता सुरु गरेका यादव २०६० सालमा पुनः शिक्षण पेसामा फर्किएर जनकपुरधामस्थित सकल भवन कन्या माध्यमिक विद्यालयमा शिक्षक बने । यद्यपि, उनले पत्रकारितालाई पनि सँगसँगै निरन्तरता दिए ।

गोरखापत्र दैनिक, अन्नपूर्ण पोस्ट, इमेज टेलिभिजन र जनकपुर टुडेमा संवाददाताका रूपमा काम गरेका यादव जनकपुर एफएम, तहल्का नेपाल र जनकपुर टिभीका संस्थापकसमेत हुन् । पत्रकारितामा बढी सक्रिय हुँदा शिक्षण पेसामा पर्याप्त समय दिन नसकेको आलोचना भने उनले खेप्दै आएका छन् ।

सामाजिक र वातावरणीय अभियान
२०६७ सालमा नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष निर्वाचित भएका यादवले कार्यकालको अन्त्यतिर जनकपुरधामको धार्मिक तथा ऐतिहासिक गंगासागर सरसफाइ अभियानको नेतृत्व लिए । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, शैक्षिक संस्था, सञ्चारकर्मी र नागरिक समाजको सहकार्यमा हरेक शनिबार महासरसफाइ अभियान सञ्चालन गरियो ।

निरन्तरको प्रयासपछि प्रदूषित गंगासागर स्वच्छ बनेपछि २०७१ सालमा पर्यटन प्रवद्र्धनको उद्देश्यले महागंगा आरतीको शुरुवात गरियो । अहिले पनि प्रत्येक साँझ हुने महागंगा आरती जनकपुरधामको प्रमुख पर्यटकीय आकर्षण बनेको छ ।

वातावरण संरक्षण अभियानमै सक्रिय रहँदै यादव २०७४ सालको निर्वाचनअघि उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरममा आबद्ध भए । धनुषा २ (ख) बाट उम्मेदवार बनेका उनी पहिलो पटक प्रदेशसभा सदस्यमा निर्वाचित भए ।

२०७९ सालको निर्वाचनमा सोही क्षेत्रबाट दोस्रो पटक विजयी भएका यादव प्रदेशसभामा सामाजिक मुद्दाहरू प्रभावकारी ढंगले उठाउने र नियमित सहभागिता जनाउने सांसदका रूपमा चिनिन्छन् । यही सक्रियताका कारण उनी दुई पटक उत्कृष्ट सांसदको सम्मानसमेत प्राप्त गर्न सफल भए ।

निर्वाचनपछि उनी जसपा संसदीय दलको नेता पदका आकांक्षी बने पनि पार्टी अध्यक्ष उपेन्द्र यादवको समर्थन नपाएपछि प्रमुख सचेतकको जिम्मेवारीमा सीमित भए ।

सम्मान र आलोचना दुवै
यादवले वातावरण संरक्षण, शिक्षा र सामाजिक क्षेत्रमा पुर्याएको योगदानका लागि वातावरण संरक्षण सम्मान, नेपाल स्रष्टा सम्मान तथा भारतको दरभंगाबाट प्रदान गरिएको मिथिला विभूति सम्मानलगायत विभिन्न पुरस्कार प्राप्त गरेका छन् ।

यद्यपि, उदाहरणीय कामसँगै आलोचना पनि उनीमाथि लागेको छ । जनकपुरधाममै आफ्नै घर हुँदाहुँदै प्रदेशसभाबाट घरभाडा सुविधा लिएको विषयलाई लिएर उनीमाथि नैतिक प्रश्न उठ्ने गरेको छ ।

सभामुखको जिम्मेवारीसँगै अब रामअशिष यादवमाथि संसदीय मर्यादा कायम राख्ने, निष्पक्ष भूमिका निर्वाह गर्ने र मधेश प्रदेशको कानून निर्माण प्रक्रियालाई प्रभावकारी बनाउने चुनौती थपिएको छ ।