जनकपुरधाम, ५ पुष । मधेश प्रदेश सभाको सभामुख पदको निर्वाचनलाई लिएर प्रदेश सभा सचिवालयले विस्तृत निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ ।

प्रदेश सभा कार्यसञ्चालन नियमावली, २०७५ बमोजिम तय गरिएको यो कार्यक्रमअनुसार शनिबार सभामुख निर्वाचन प्रक्रियाको सबैभन्दा महत्वपूर्ण चरणहरू सम्पन्न हुने भएका छन् ।

प्रदेश सभा स्रोतका अनुसार उपसभामुख बबिता राउत ईशरले सभामुख पदको निर्वाचन आइतबार दिउँसो १ बजे तोकिसकेकी छन् । सोही निर्वाचनलाई लक्षित गर्दै आज उम्मेदवारी दर्ता, प्रस्ताव तथा समर्थन संकलन र उम्मेदवारहरूको अन्तिम सूची प्रकाशनजस्ता कार्यहरू एकै दिन सम्पन्न गरिनेछ ।

कार्यक्रमअनुसार आज बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म मधेश प्रदेश सभा सचिवालयमा सभामुख पदका लागि प्रस्ताव र समर्थनसहितको उम्मेदवारी दर्ता गर्न सकिनेछ ।

प्रदेश सभा कार्यसञ्चालन नियमावलीको व्यवस्था अनुसार कुनै पनि सदस्यलाई सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्ताव गर्नुपर्नेछ र अर्को सदस्यले त्यसलाई समर्थन गर्नुपर्नेछ ।

निर्धारित समयभित्र दर्ता भएका उम्मेदवारीहरूलाई दर्ता क्रमानुसार सूचीबद्ध गरी आज दिउँसो ३ः३० बजे सचिवालयले सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । सूची प्रकाशनसँगै सभामुख पदका आकांक्षीहरू स्पष्ट हुने र राजनीतिक दलहरूको रणनीति पनि सतहमा आउने छ ।

प्रदेश सभा सचिवालयका अनुसार उम्मेदवारी दर्ताका क्रममा प्रस्तावित उम्मेदवारले आफ्नो हालसालै खिचिएको एक प्रति फोटो र नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि अनिवार्य रूपमा संलग्न गर्नुपर्नेछ । आवश्यक कागजात अपूरो भए उम्मेदवारी अस्वीकार हुन सक्ने भएकाले सदस्यहरूलाई समयमै सबै प्रक्रिया पूरा गर्न आग्रह गरिएको छ ।

आजको कार्यक्रमलाई सभामुख निर्वाचनको ‘निर्णायक पूर्वतयारी’ का रूपमा हेरिएको छ । यही दिन दर्ता भएका उम्मेदवारहरूकै आधारमा आइतबार प्रदेश सभाको बैठकमा प्रस्ताव पेश हुने, सामूहिक छलफल हुने र दर्ता क्रमानुसार निर्णयार्थ प्रस्तुत गरी सभामुख चयन गरिनेछ ।

प्रदेश सभा सचिवालयले सबै सदस्यहरूलाई निर्धारित समय र नियमावलीको पूर्ण पालना गर्दै निर्वाचन प्रक्रियामा सक्रिय सहभागिता जनाउन आग्रह गरेको छ । आज सम्पन्न हुने कार्यक्रमले भोली हुने सभामुख निर्वाचनको दिशा र परिणाम तय गर्ने विश्वास लिइएको छ ।