जनकपुरधाम, ३ पुष । मोनास्टिक स्कुल/कलेजले नबिल बैंकको सहकार्यमा ‘नबिल स्कुल अफ सोशल इन्टरप्रेनरशिप’ को तेस्रो समूहका लागि ओरिएन्टेशन कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।

कार्यक्रममा विभिन्न व्यवसायिक पृष्ठभूमिबाट आएका २५ जनाको सहभागिता रहेको थियो । उनीहरू अब आगामी तीन महिनासम्म चल्ने सिकाइ, नवप्रवर्तन र सामाजिक प्रभावमा केन्द्रित उद्यमशीलताको यात्रामा सहभागी हुने मोनास्टिक स्कुल÷कलेजका निर्देशक डा. सोनु कुमारले बताए ।

यस अवधिमा सहभागीहरूले सामाजिक समस्याको समाधान खोज्ने, दिगो व्यवसायिक मोडेल विकास गर्ने तथा नविन सोचलाई व्यवहारमा उतार्ने अवसर पाउनेछन् ।

ओरिएन्टेशन कार्यक्रममार्फत पाठ्यक्रमको संरचना, सिकाइ विधि, मेन्टरशिप प्रक्रिया र कार्यक्रमका उद्देश्यबारे विस्तृत जानकारी गराइएको थियो ।

डा. सोनुले भने, ‘यस पहलको मुख्य लक्ष्य सामाजिक उत्तरदायित्वसँग जोडिएको उद्यमशीलता प्रवद्र्धन गर्नु र समाजमा सकारात्मक परिवर्तन ल्याउने सक्षम नेतृत्व विकास गर्नु हो ।’

मोनास्टिक स्कुल/कलेजले यस कार्यक्रममार्फत युवाहरूलाई केवल व्यवसायिक ज्ञान मात्र नभई सामाजिक संवेदनशीलता, नवप्रवर्तनशील सोच र दीर्घकालीन प्रभाव सिर्जना गर्ने क्षमता विकास गराउन प्रतिबद्धता जनाएको छ ।

नबिल बैंकसँगको सहकार्यले वित्तीय साक्षरता, उद्यम विकास र दिगो लगानीका विषयमा सहभागीहरूलाई व्यवहारिक ज्ञान प्रदान गर्ने विश्वास लिइएको छ ।

कार्यक्रमका सहभागीहरूले पनि यस्ता प्लेटफर्ममार्फत आफ्ना विचारलाई परिष्कृत गर्दै समाजमा सकारात्मक योगदान दिने उद्यम स्थापना गर्ने अवसर पाएकोमा उत्साह व्यक्त गरेका छन् । उनीहरूका अनुसार तीन महिनाको यो यात्रा सिकाइ र नेटवर्किङका हिसाबले महत्वपूर्ण हुने विश्वास गरिएको छ ।

आयोजक संस्थाका प्रतिनिधिहरूले आगामी दिनमा सहभागीहरूका विचारलाई दिगो उद्यममा रूपान्तरण गर्न आवश्यक मार्गदर्शन, सहजीकरण र स्रोत साधन उपलब्ध गराइने जानकारी दिएका छन् ।

‘नबिल स्कुल अफ सोशल इन्टरप्रेनरशिप’ ले नवप्रवर्तनशील उद्यमी उत्पादन गर्दै सामाजिक परिवर्तनका लागि प्रतिबद्ध व्यक्तिहरूलाई सशक्त बनाउने लक्ष्य लिएको जनाएको छ ।