२ करोड ७४ लाख ८४ हजार धरौटीमा रास्वपा सभापति रवि लामिछाने थुनामुक्त हुँदै

काठमाडौं, ३ पुष । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उच्च अदालत बुटवलले थुनामुक्त गर्न आदेश दिएको छ ।
अदालतले लामिछानेलाई २ करोड ७४ लाख ८४ हजार रुपैयाँ धरौटी बुझाएपछि थुनाबाहिर बस्न पाउने व्यवस्था गरेको हो ।
उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार न्यायाधीशद्वय बासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले उक्त आदेश दिएको हो । लामिछानेमाथि चलिरहेको मुद्दाको सुनुवाइपछि अदालतले धरौटीमा रिहा गर्ने निर्णय सुनाएको हो ।
लामिछानेसहित जोशीले समेत बिगो बापतको रकम बुझाएर थुनाबाहिर बस्न पाऊँ भनी अदालतमा निवेदन दिएका थिए । सोही निवेदनमाथि सुनुवाइ गर्दै अदालतले धरौटी रकम तोकेको हो । अदालतले बिगोबापतको रकमका अतिरिक्त थप एक करोड रुपैयाँ धरौटी राख्नसमेत आदेश दिएको जनाइएको छ ।
अदालतको आदेशसँगै लामिछानेले तोकिएको धरौटी रकम बुझाएपछि थुनामुक्त हुने कानुनी बाटो खुलेको छ । यस निर्णयलाई लिएर राजनीतिक वृत्तमा विभिन्न प्रतिक्रिया आउन थालेका छन् । रास्वपाले अदालतको आदेशको सम्मान गर्दै कानुनी प्रक्रियामा पूर्ण सहयोग गर्ने बताउँदै आएको छ ।
लामिछानेविरुद्धको मुद्दा भने अदालतमा विचाराधीन नै रहनेछ । धरौटीमा रिहा भए पनि मुद्दाको अन्तिम टुंगो नलागेसम्म कानुनी प्रक्रिया निरन्तर अघि बढ्ने कानुनविद्हरूको भनाइ छ ।


तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


