तोकिएकै समयमा कांग्रेस महाधिवेशन हुने दाबी, फागुन २१ को निर्वाचन मितिमाथि संयोजक घिमिरेको शंका

जनकपुरधाम, ३ पुष । नेपाली कांग्रेसका महाधिवेशन संयोजक गुरुराज घिमिरेले पार्टीको आगामी महाधिवेशन तोकिएकै समयमा सम्पन्न हुने दाबी गरेका छन् ।
जनकपुरधामस्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा बिहीबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले महाधिवेशनको सम्पूर्ण प्रक्रिया निर्विवाद रूपमा अगाडि बढिसकेको र कुनै अवरोध नरहने स्पष्ट पारे ।
संयोजक घिमिरेले पार्टी विधानअनुसार पुष २८ गतेभित्र महाधिवेशन गर्नुपर्ने वैधानिक बाध्यता रहेको उल्लेख गर्दै निर्धारित समयमै महाधिवेशन हुनेमा ढुक्क रहन कार्यकर्ता र आम पार्टी पंक्तिलाई आग्रह गरे । उनका अनुसार यदि पुष २८ भित्र महाधिवेशन सम्पन्न हुन नसके विशेष महाविधेशन गर्नुपर्ने अवस्था आउँछ । त्यसलाई टार्न पार्टीले तीव्र गतिमा तयारी गरिरहेको छ ।
‘महाधिवेशन नगर्ने विकल्प कांग्रेससँग छैन,’ घिमिरेले भने, ‘त्यसैले पार्टी नेतृत्वदेखि तल्लो तहसम्म सबै तयारीमा जुटेका छौँ र तोकिएकै समयमा महाधिवेशन सम्पन्न हुन्छ ।’
यसैबीच, अर्को प्रसंगमा उनले आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचन मितिमाथि भने शंका व्यक्त गरे । घिमिरेका अनुसार उक्त समयमा हिमाली तथा उच्च पहाडी भेगमा अत्यधिक हिमपात हुने सम्भावना रहने भएकाले तोकिएकै मितिमा निर्वाचन हुन सक्ने वा एकै चरणमा निर्वाचन सम्पन्न हुन सक्ने विषयमा संशय रहेको छ ।
‘मिति त तोकिएको छ । तर, भौगोलिक अवस्था र मौसमलाई पनि ध्यान दिनुपर्छ,’ उनले भने, ‘हिमाली भेगमा हिउँ परे निर्वाचन प्रभावित हुन सक्छ ।’
राजनीतिक सन्दर्भमा कुरा गर्दै घिमिरेले नेपाली कांग्रेस मुलुकको हरेक राजनीतिक परिवर्तनमा अग्रणी भूमिका निर्वाह गर्दै आएको बताए ।
उनले ती परिवर्तनहरूमा मधेशको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गरे । कांग्रेसकै पहलमा देशले पहिलो राष्ट्रपति मधेशबाट पाएको स्मरण गराउँदै उनले भविष्यमा प्रधानमन्त्री पनि मधेशबाट नेपाली कांग्रेसले नै दिने दाबी गरे ।

