जनकपुरधाममा आजदेखि पालिकास्तरीय टी–२० क्रिकेट प्रतियोगिता सुरू

जनकपुरधाम, २९ मंसिर । जनकपुरधाममा पालिकास्तरीय टी–२० क्रिकेट प्रतियोगिता आजदेखि औपचारिक रूपमा सुरु भएको छ ।
सनराइज स्पोर्ट्सको आयोजना तथा धनुषा जिल्ला क्रिकेट संघको सहकार्यमा सञ्चालन भएको प्रथम पालिकास्तरीय टी–२० क्रिकेट प्रतियोगिताको उद्घाटन जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले गरेका छन् ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर साहले खेलकुद र खेलाडी राष्ट्रको गहना भएको उल्लेख गर्दै स्थानीय तहले क्रिकेटजस्ता लोकप्रिय खेललाई प्राथमिकतामा राखेर दीर्घकालीन योजनासहित अघि बढ्नुपर्नेमा जोड दिए ।
‘क्रिकेट आज युवाको आकर्षणको केन्द्र बनेको छ। यस्ता प्रतियोगिताले स्थानीय प्रतिभा पहिचान र उत्पादनमा ठूलो योगदान पुर्याउँछ,’ उनले भने, ‘स्थानीय सरकारले खेलमैदान, पूर्वाधार र नियमित प्रतियोगितामा लगानी बढाउन जरुरी छ ।’
मेयर साहले जनकपुरधाम उपमहानगरपालिका–१४ रजौलस्थित निर्माणाधीन श्रीरामजानकी बहुउद्देश्यीय रंगशालालाई चाँडै व्यवस्थित गरी खेलकुद गतिविधिको केन्द्र बनाइने प्रतिबद्धता पनि जनाए ।
उनले आगामी वर्षदेखि जिल्लाका सबै पालिकालाई समेटेर प्रतियोगिता विस्तार गर्नुपर्ने धारणा राख्दै सहभागिता बढेमा प्रतिस्पर्धा थप सशक्त हुने बताए ।
रजौलस्थित रंगशालामा सुरु भएको प्रतियोगितामा धनुषा जिल्लाका ८ पालिकाका टिमहरू सहभागी छन् । जसअन्तर्गत समूह ‘ए’ मा लक्ष्मिनिया गाउँपालिका, औरही गाउँपालिका, शहीदनगर नगरपालिका र जनकनन्दनी गाउँपालिका रहेका छन् भने समूह ‘बी’ मा जनकपुरधाम उपमहानगरपालिका, नगराइन नगरपालिका, कमला नगरपालिका र सबैला नगरपालिका रहेका छन् ।
आयोजकका अनुसार प्रतियोगिता ९ दिनसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको ढाँचाअनुसार प्रत्येक टिमले लिग चरणमा तीन खेल खेल्नेछ भने शीर्ष चार टिम सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
उद्घाटन सत्रमा जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख सूर्यबहादुर शाही, धनुषा जिल्ला क्रिकेट संघका अध्यक्ष शोभाकान्त पाण्डेय, प्रशिक्षक नवीन सिंह, लाला गुनवन्त सिंह लगायत खेलकुदकर्मी तथा स्थानीयहरूको उपस्थिति रहेको थियो ।
जिल्ला क्रिकेट संघका अध्यक्ष पाण्डेयले यस्ता प्रतियोगिताले जिल्लास्तरमा क्रिकेटको आधार मजबुत बनाउने विश्वास व्यक्त गर्दै भविष्यमा प्रदेशस्तरीय प्रतिस्पर्धा आयोजना गर्ने लक्ष्य रहेको बताए ।
प्रशिक्षक सिंहले भने स्थानीय खेलाडीलाई नियमित खेलको अवसर मिलेमा राष्ट्रिय स्तरसम्म पुग्ने सम्भावना प्रबल हुने धारणा राखे ।
स्थानीय युवाहरूको उल्लेखनीय सहभागिता र दर्शकको उत्साहपूर्ण उपस्थितिसँगै सुरु भएको प्रतियोगिताले जनकपुरधाममा खेलकुद वातावरण थप चलायमान बनाउने विश्वास गरिएको छ ।



तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


