जनकपुरधाम, २६ मंसिर । मन्त्रिपरिषद् विस्तार, मन्त्रालय भागबण्डा र सभामुख नियुक्ति लगायत गठबन्धन समन्वयबारे शुक्रबार बिहान बोलाइएको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन बनेको छ ।

बिहान ११ बजे सुरु भएको बैठकमा सामान्य छलफल भएपनि कुनै ठोस सहमति हुन सकेको छैन ।

जसपा नेपालका संसदीय दलका नेता सरोजकुमार यादव प्रदेशबाहिर रहेका कारण बैठकमा उनका प्रतिनिधि सहभागी भएका थिए । सहभागी नेताहरूका अनुसार बैठकमा सरकारमा सहभागिता र मन्त्रालय भागबण्डा विषयमा प्रारम्भिक चर्चा मात्र भएको थियो । तर, नेतृत्व स्तरमा सहमति जुटाउन सकिएन ।

सात दलीय गठबन्धनको समर्थनमा गत १९ मंसिरमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव मुख्यमन्त्री नियुक्त भएका थिए । उनी २१ मंसिरमै पद तथा गोपनीयताको शपथ लिएर मन्त्रिपरिषद् विस्तारको प्रक्रिया सुरु गरेका थिए ।

गठबन्धनका शीर्ष नेताहरूले बाँकी मुद्दामा सहमति जुटाउन अब बस्ने अर्को बैठकमा पुनः छलफल गरेर निर्णय गर्ने तयारी गरिरहेका छन् ।

यसैबीच, राजनीतिक विश्लेषकहरूले मन्त्रालय भागबण्डा र प्रमुख पदसम्बन्धी सहमति जुट्न ढिलो हुनुले सरकारको कार्यक्षमता र गठबन्धन स्थायित्वमा असर पार्न सक्ने चेतावनी दिएका छन् ।