मधेशमा प्राकृतिक विपद्ले धान, तरकारी र दलहन बालीमा ठूलो क्षति

जनकपुरधाम, २६ मंसिर । प्राकृतिक विपद्का कारण यस वर्ष मधेश प्रदेशमा खाद्यान्न उत्पादनमा उल्लेख्य गिरावट आएको छ ।
गत कार्तिक महिनामा आएको अविरल वर्षाले धान, तरकारी र अन्य नगदे बालीमा ठुलो क्षति पुर्याएको छ भने असार साउनमा वर्षा नहुँदा धान रोपाइँ नै प्रभावित भएको थियो ।
कृषि ज्ञान केन्द्र महोत्तरीका अनुसार ४० हजार ३२१ हेक्टर धान खेतीयोग्य जमिनमध्ये केवल ३० हजार हेक्टरमा मात्र रोपाइँ हुन सफल भएको थियो । यद्यपि भित्र्याउने समयमा आएको वर्षाले धान बालीमा ठूलो क्षति पुर्याएको छ ।
यस वर्ष महोत्तरीमा १ लाख २४ हजार मेट्रिक टन धान उत्पादन भएकोमा करिब २०–२५ प्रतिशतले उत्पादन कम हुने अनुमान गरिएको छ ।
तरकारी, दलहन, तेलहन र आलुजस्ता नगदे बालीमा समेत ठूलो क्षति भएको छ । मन्त्रालयका अनुसार सप्तरीमा ६७.५० मेट्रिक टन, सिरहामा १०८, धनुषामा ७४२.५०, महोत्तरीमा १,३२३, सर्लाहीमा १,२१५, रौतहटमा ४०५, बारामा १,२१५ र पर्सामा १३५ मेट्रिक टन तरकारी बाली नष्ट भएको छ ।
धानमा पनि सप्तरीमा २०.७५ मेट्रिक टन, सिरहामा ६२.४०, धनुषामा १७१.६०, महोत्तरीमा २४९.६०, सर्लाहीमा २४९.६०, रौतहटमा २६५.२०, बारामा १८७.२० र पर्सामा ९३.६० मेट्रिक टन क्षति भएको छ । यसैगरी उखु र केराबालीमा समेत ठूलो क्षति भएको छ ।
प्राकृतिक विपद्ले प्रभावित किसानहरूले सरकारले अझै राहत उपलब्ध नगराएकोमा गुनासो गरेका छन् । महोत्तरीका किसान राजकुमार मण्डलले भने, ‘धान पाकिसकेको थियो, भित्र्याउने तयारीमै थियौँ । पानी परेपछि खेतमै लडेर बिग्रियो । यो वर्ष कसरी गुजारा चलाउने हो थाहा छैन ।’
अर्का किसान धर्मनाथ यादवले पनि सरकारबाट राहत नपाएको गुनासो गरे । ‘सरकारले राहत दिन्छ भनेको सुनेका हुँ, तर अहिलेसम्म कहाँ छ र कहिले आउँछ भन्ने पत्तो छैन ।’
किसानहरूले तत्काल क्षतिको मूल्याङ्कन, राहत प्याकेज, बिउ–बिजन सहयोग र राहत कर्जा उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।
प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका बाली विकास अधिकृत रोविन बस्नेतले संघीय सरकारले मधेश प्रदेशका किसानलाई क्षतिपूर्ति दिने घोषणा गरेको भए पनि आवश्यक बजेट अभावले रकम उपलब्ध नभएको स्वीकार गरेका छन् ।
बस्नेतका अनुसार संघीय सरकारले मधेश प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो । तर, बजेट सीमित र आवेदन संख्याभन्दा बढी भएकाले प्रक्रिया रोकिएको थियो । सुक्खा अवधि तीन महिनाका लागि तोकिएको थियो । तर, समय बितिसकेकाले आवेदनमाथि विचार विमर्शका लागि थप निर्णय लिनुपर्नेछ ।
गत कार्तिक १३ देखि १५ गतेसम्मको अविरल वर्षाले मधेश प्रदेशमा करिब २४ करोड २२ लाख ७३ हजार रुपैयाँभन्दा बढीको कृषि बाली क्षति पुर्याएको मन्त्रालयले जनाएको छ ।
कृषकहरू र कृषि विशेषज्ञहरूले यस वर्षको विपद् व्यवस्थापन र राहत वितरणमा तत्काल कदम चाल्नुपर्ने, नभए किसानहरू आगामी सिजनमा पनि जोखिममा पर्ने चेतावनी दिएका छन् ।

