जनकपुरधाम, २६ मंसिर । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि धनुषा क्षेत्र नम्बर–३ मा पूर्वउपसभापति विमलेन्द्र निधिलाई आधिकारिक रूपमा सिफारिस गरेको छ ।

शुक्रबार बसेको बैठकले निधिको नाम चयन गर्दै उनलाई निर्वाचन क्षेत्रमै प्रत्यक्ष प्रतिस्पर्धा गराउने पार्टीको रणनीति स्पष्ट गरेको छ ।

निधि २०७९ सालको प्रतिनिधिसभा चुनावमा समानुपातिकतर्फ सांसद बनेका थिए । यसपटक भने पार्टीले प्रत्यक्ष उम्मेदवारको रूपमा अघि सार्ने निर्णयलाई स्थानीय तहमा व्यापक समर्थन मिलिरहेको कांग्रेस स्रोतले जनाएको छ ।

पार्टी भित्रका नेताहरूका अनुसार निधिको लोकप्रियता, राजनीतिक अनुभव र क्षेत्रमा रहेको संगठनात्मक प्रभावले उनलाई सशक्त उम्मेदवारका रूपमा अघि सारेको हो ।

प्रत्यक्षतर्फ निधिलाई अघि सारेसँगै नेपाली कांग्रेसले समानुपातिक प्रतिनिधिसभा सूचीका लागि तीन व्यक्तिको नाम पनि केन्द्रमा पठाएको छ ।
पार्टीका अनुसार प्रफुल्लराज घिमिरे, ललन चौधरी र उर्मिला यादव समानुपातिकतर्फ सिफारिस भएका छन्।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन लक्षित तयारी तीव्र बनाउने क्रममा कांग्रेसले उमेदवारी सिफारिस प्रक्रिया अन्तिम चरणमा पुर्याएको बताइएको छ ।