कमला नदीमा गलत डिजाइनका कारण पुल भासिएको पुष्टि, विभागका उच्च अधिकारी छानबिनको दायरामा

जनकपुरधाम, २६ मंसिर । धनुषा र सिरहालाई जोड्ने कमला नदीमाथि निर्माणाधीन पुल भासिनुका पछाडि गम्भीर प्राविधिक त्रुटि नै प्रमुख कारण भएको खुलासा भएको छ ।
महालेखा परीक्षकको प्रतिवेदन–२०७९ ले प्रारम्भिक डिजाइनदेखि निर्माण प्रक्रियासम्मकै कमजोरीका कारण पुल संरचना असफल भएको निष्कर्ष निकालेपछि सडक विभागका उच्च अधिकारीहरू छानबिनको दायरामा परेका छन् ।
महालेखा प्रतिवेदनका अनुसार पुलको सबैभन्दा महत्वपूर्ण भाग मानिने पाइल (पाया) को लम्बाइ आवश्यक प्राविधिक मानकभन्दा निकै कम राखिएको थियो । त्यस्तै, माटो परीक्षणका लागि अनिवार्य मानिने बोरहोल पर्याप्त नखन्ने, गहिराइ पनि न्यून राख्ने तथा पाइल लोड टेस्ट नै नगर्ने जस्ता अत्यावश्यक प्राविधिक प्रक्रिया छाडिएको पुष्टि भएको प्रतिवेदनमा उल्लेख छ । यी तीन मुख्य त्रुटिका कारण पुल भासिने अवस्था उत्पन्न भएको प्रतिवेदनले देखाएको छ ।
प्रतिवेदनका अनुसार पुलको प्रारम्भिक डिजाइन तत्कालीन पुल महाशाखाका सीडीई तथा हालका सडक विभाग महानिर्देशक डा. विजय जैशीले तयार पारेका थिए । विभागका उपमहानिर्देशक प्रभातकुमार झा पनि सो प्राविधिक प्रक्रियामा संलग्न रहेको उल्लेख छ । डिजाइन तयारीदेखि अनुमोदन र प्राविधिक निगरानीमा रहेकाले सम्बन्धित पदाधिकारीहरूको भूमिका विवादमा आएको प्रतिवेदनमा उल्लेख छ ।
यससँगै संरचनात्मक, प्राविधिक तथा प्रशासनिक जिम्मेवारीमा रहेका अन्य अधिकारीसमेत छानबिनको दायरामा पर्ने संकेत प्रतिवेदनले दिएको छ ।
पूर्वपश्चिम हुलाकी राजमार्गमा पर्ने कमला नदीको यो पुल दुई जिल्लाका लागि अत्यन्त महत्वपूर्ण मानिन्छ । पुल भासिएपछि धनुषा–सिरहा जोड्ने आवतजावत अवरुद्ध बनेको छ । यात्रु, स्थानीय बासिन्दा तथा यातायात व्यवसायीहरू नदी कटान गर्दै जोखिमपूर्ण रूपमा आवाजाही गर्न बाध्य छन् ।
‘पुल भासिएको महिनौँ बितिसक्यो । तर, पुनर्निर्माणको सुरुआतसम्म भएन,’ एक स्थानीयले गुनासो गर्दै भने, ‘लोकतन्त्रमा नागरिकले आधारभूत सेवा नै नपाउनु दुखद अवस्था हो ।’
प्रतिवेदन सार्वजनिक भएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागले घटनाको विस्तृत छानबिन अघि बढाउने तयारी गरेको बुझिएको छ । विभागका एक अधिकारीका अनुसार प्रतिवेदनले देखाएका प्राविधिक त्रुटि अत्यन्त गम्भीर छन् । जिम्मेवारहरूलाई कारबाहीबाट उम्कन छुट हुँदैन ।
स्थानीय सरकारले पनि पुनर्निर्माण तत्काल सुरु गर्न मन्त्रालयमा निरन्तर दबाब दिइरहेको छ । भासिएको पुलको स्थानमा स्थायी संरचना निर्माण नहुँदासम्म वैकल्पिक यातायात व्यवस्थापन गर्नुपर्ने आवाज बालाजसुलभ रूपमा उठिरहेको छ ।
प्राविधिक त्रुटि र लापरबाहीका कारण करोडौँ लगानीबारे प्रश्न उठेको छ । स्थानीय बासिन्दा, नागरिक समाज तथा जनप्रतिनिधिहरूले छानबिन पारदर्शी रूपमा गर्न तथा दोषी पुष्टि भए कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन् ।
यता, भासिएको पुलले संक्रमणकालीन अवस्थामै यात्रु र व्यापारीलाई परेको गम्भीर प्रभावका कारण पुनर्निर्माण कार्य छिटो सुरु होस् भन्ने अपेक्षा अझै बढ्दै गएको छ ।

