शिक्षक बने ‘एजेन्ट’: साउदी पठाउने नाममा धनुषाका युवकसँग सवा दुई लाख ठगीको आरोप

जनकपुरधाम, २६ मंसिर । धनुषाका एक सार्वजनिक विद्यालयका शिक्षक ‘एजेन्ट’ बनेर वैदेशिक रोजगारीका नाममा सवा दुई लाख रुपैयाँ ठगी गरेको आरोप लागेको छ ।
कमला नगरपालिका–५ लक्कडस्थित सरकारी स्कूलमा कार्यरत शिक्षक सुरेश गोईतविरुद्ध शहिदनगर–८ नाथपट्टिका पीडितले ठगीको गम्भीर आरोप लगाएका हुन् ।
कमला नगरपालिका–८ सोनापाडाका २४ वर्षीय शम्भु यादवले शिक्षक गोईतले आफूलाई विदेश पठाइदिने भन्दै २ लाख २५ हजार रुपैयाँ सेटिङको नाममा लिएको र सम्झौताअनुसार सेवा नदिएकाले आफू ठगिएको दाबी गरेका छन् ।
पीडित यादवका अनुसार गोईतले आफ्नो भविष्य उज्यालो बनाइदिने विश्वास दिलाउँदै एसी मेकानिक काममा खाडी मुलुक साउदी पठाइने बताए । तर, कागजी सम्झौतामा भने काठमाडौंकै नेपाल एचआर सोलुशन प्रा.लि. मार्फत लोडिङ–अनलोडिङ काममा हस्ताक्षर गराइएको उनले बताएका छन् ।
‘मौखिक रूपमा एसी मेकानिक भनेर पैसा लिए । तर, कागजमा अर्कै काम देखाइयो । हामी जस्ता ग्रामीण युवालाई यस्तै गरेर फसाइने रहेछ,’ यादवले गुनासो गरे ।
साउदी पुगेपछि वास्तविकता झनै कडासँग थाहा पाए । सम्झौताअनुसार १००० + ३०० रियाल तलब हुने भनिए पनि उनलाई ९०० + ३०० मात्र तलब दिइएको यादव बताउँछन् । त्यसमाथि पनि एसी मेकानिक भनेर पठाइएका उनले स्कार्प होल्डिङ (धातु काट्ने तथा भारी काम) मा लगाइएको आरोप छ ।
‘काम न त सिकेको, न त क्षमतै थियो । गाह्रो भएर भनेपछि कसैले सुनिदैँ नथियो,’ उनले अनुभव सुनाए ।

दुःखका दिनमा पीडितले नेपालमा बसेका एजेन्ट शिक्षक गोईतसँग सम्वाद गर्न खोजे तर उनले फोन नै उठाउन छाडेको यादवको आरोप छ । ‘अहिले त फोन नै स्विच अफ छ । पैसा लिएपछि यिनले हामीजस्ता युवकलाई कसरी फसाउँछन्, आफै बुझिन्छ,’ यादवले भने ।
वैदेशिक रोजगारीको नाममा लाखौँ युवाले ठगी भोगिरहेका बेला शिक्षक जस्तो सामाजिक हैसियत हाँकेको व्यक्तिद्वारा हुने ठगीले झनै प्रश्न उठाएको पीडितको भनाइ छ । युवक यादवले सम्बन्धित निकायबाट छानबिन र कानुनी कारबाहीको माग गरेका छन् ।
ठगीसम्बन्धी थप विवरणका लागि गोईतसँग सम्पर्क गर्न खोज्दा उनको फोन बन्द रहेको छ ।
यस्तो घटनाले वैदेशिक रोजगारीमा जाने युवाहरू उच्च सतर्कता अपनाउनुपर्ने तथा यस्ता अवैध बिचौलियामाथि तत्काल कडाइ गर्नुपर्ने आवश्यकता देखिएको छ ।

