रौतहट, २६ मंसिर । रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित पूर्वपश्चिम राजमार्गमा शुक्रबार बिहान भएको दुर्घटनामा एक वृद्धको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

पश्चिम पहिलो लच्का नजिक बिहान करिब ८ बजे बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एकअर्कालाई ओभरटेक गर्ने क्रममा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा कारमा सवार अन्दाजी ९० वर्षीय एक वृद्धको घटनास्थलमै मृत्यु भएको छ । मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

घटनामा बारा निजगढका करिब २५–३० वर्षीय कार चालक दिनेश थपलिया र चन्द्रपुर–६ का २० वर्षीय डोरमणि सापकोटा घाइते भएका छन् । उनीहरूलाई तत्काल उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनापछि दुवै सवारीसाधनलाई प्रहरी नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको छ ।