विद्यार्थीहरूलाई निशुल्क पोशाक वितरण

जनकपुरधाम, २२ मंसिर । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-१३ धत्ता टोलस्थित राप्रावि पिडारीको आयोजनामा निशुल्क पोशाक वितरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधिदेखि समुदायका विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रह्यो ।
कार्यक्रमका प्रमुख अतिथिका रूपमा जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साह उपस्थित रहे । विशेष अतिथिका रूपमा वडा नं. १३ का अध्यक्ष जितबहादुर राउत, वडा नं. ९ का अध्यक्ष परमेश्वर साह तथा नेपाल ई–रिक्सा मजदुर संगठनका केन्द्रीय अध्यक्ष बिरेन्द्र कुमार महतो सहभागी भएका थिए ।
कार्यक्रममा स्थानीय बुद्धिजीवी, ज्येष्ठ नागरिक, विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रह्यो । आयोजकका अनुसार आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई अध्ययनमै उत्साह बढाउने उद्देश्यले पोशाक वितरण गरिएको हो ।
कार्यक्रममा बोल्दै मेयर साहले शिक्षामा समान पहुँच सुनिश्चित गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै सामुदायिक विद्यालयहरूलाई सहयोग गर्न समुदायको हातेमालो आवश्यक पर्ने बताए ।
विशेष अतिथिहरूले पनि सामाजिक उत्तरदायितामा आधारित यस्ता कार्यक्रमले समुदायमा सकारात्मक प्रभाव पार्ने धारणा राखे ।
पोशाक वितरणपछि विद्यालय व्यवस्थापन समितिले अतिथिहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्तै सहयोगी कार्यक्रम निरन्तर गर्ने प्रतिबद्धता जनायो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


