जनकपुरधाम, १९ मंसिर । लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा ऐतिहासिक उपलब्धि हात पारेको छ ।

शुक्रबार कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनीले पहिलोपटक प्लेअफमा प्रवेश गरेको हो ।

लुम्बिनीको जितसँगै प्लेअफका चारै स्थान टुंगिएको छ । जनकपुरसँगै पोखरा एभेन्जर्स र चितवन राइनोज पनि बाहिरिएका छन् भने कर्णाली याक्स पहिले नै दौडबाट बाहिर भइसकेका थिए । यसअघि सुदूरपश्चिम रोयल्स, काठमाण्डु गोर्खाज र विराटनगर किंग्सले प्लेअफ सुनिश्चित गरिसकेका थिए ।

जनकपुरले दिएको १३३ रनको साधारण लक्ष्य लुम्बिनीले १९.१ ओभरमा ६ विकेट गुमाएर पूरा गर्याे । कप्तान रोहित पौडेलले ३४ रन सहित उत्कृष्ट निर्णायक इनिङ्स खेले । डार्सी सर्टले ३० रन, जेजे स्मिथले २१ तथा निरोशन डिकवेलाले १७ रन जोडे ।

इनिङ्स सुरुमा लुम्बिनीले पहिलो बलमै ओपनर सुमित महर्जनलाई गुमाएको थियो । तर, सर्ट र पौडेलले दोस्रो विकेटका लागि ६१ रनको साझेदारी गर्दै टोलीलाई संकटबाट बाहिर निकाले ।

१२औं ओभरमा जनकपुरका मयन यादवले लगातार दुई विकेट लिएपछि खेल रोचक बनेको थियो । पहिलो बलमा रोहित र त्यसपछि सन्दिप जोरालाई एलबीडब्लु आउट गर्दै मयनले लुम्बिनीलाई दबाबमा पारे । तर, डिकवेला, स्मिथ र अन्त्यतिर दिलीप नाथले इनिङ्स सम्हाले ।

जनकपुरका लागि संगीथ कुरेले ३ विकेट, मयन यादवले २ र सञ्जय कृष्णमुर्तीले १ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३२ रन बनाएको थियो ।

जनकपुरका संगीथ कुरेले ३८ बलमा ४५ रन बनाए । उनले २ चौका र १ छक्का प्रहार गरे । मयन यादव २७ रनमा अविजित रहे ।

आसिफ शेखले २० रन, सञ्जय कृष्णमुर्तीले १४, शुभ कंसाकारले ११ रन जोडे । तर, मध्यक्रम कमजोर रहँदा जनकपुरले ८३ रनमै ६ विकेट गुमाएको थियो । अन्त्यतिर कुरे र मयनले अविजित ४९ रनको साझेदारी गरेर टीमलाई सम्मानजनक स्कोरमा पुर्याए ।

लुम्बिनीका शेर मल्ल र कप्तान रोहित पौडेलले २–२ विकेट लिए । जेजे स्मिथ र रुबेन ट्रम्पल्म्यानले १–१ विकेट हात पारे ।

सुदूरपश्चिम रोयल्स, काठमाण्डु गोर्खाज, विराटनगर किंग्स र अब लुम्बिनी लायन्स प्लेअफमा पुगेका छन् ।

सुदूरपश्चिमले पहिलो क्वालिफायर खेल्ने पक्का भइसकेको छ भने लुम्बिनीले एलिमिनेटर खेल्नेछ ।

अब शनिबार हुने सुदूरपश्चिम र विराटनगरबीचको खेलपछि लिगको दोस्रो र तेस्रो स्थानको अन्तिम टुंगो लाग्नेछ ।

एनपीएलको पहिलो संस्करणमा प्लेअफ गुमाएको लुम्बिनीले यसपटक उत्कृष्ट समन्वय, शान्त स्वतन्त्र प्रदर्शन र कप्तान रोहित पौडेलको नेतृत्वमा ऐतिहासिक उपलब्धि हात पार्न सफल भएको छ ।

लुम्बिनीका समर्थक यो जितलाई ‘फ्रैंचाइज इतिहासको ठूलो मोड’ भनेर स्वागत गरिरहेका छन् ।