सर्लाही, १ मंसिर । आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधि सभा निर्वाचनको तयारीसहित सर्लाहीमा मतदाता नामावली दर्ता अभियान तिव्र गतिमा अघि बढिरहेका बेला जिल्लामा पाँच हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन् ।

निर्वाचन आयोगले देशैभर संचालन गरिरहेको मतदाता नामावली सङ्कलनकार्य सर्लाहीमा विशेष रूपमा प्रभावकारी देखिएको छ ।

राष्ट्रपतिबाट असोज ९ गते मतदाता नामावलीसम्बन्धी अध्यादेश जारी भएपछि सदरमुकाम मलङ्गवास्थित जिल्ला निर्वाचन कार्यालयले असोज १२ गतेदेखि नामावली सङ्कलन सुरु गरेको थियो ।

जिल्लामा असोज १२ गतेदेखि सोमबारसम्म ५,६१३ नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख शिवनारायण साहले जानकारी दिए । तीमध्ये ३,२८९ पुरुष र २,३२४ महिला रहेका छन् ।

अभियानका प्रारम्भिक दिनहरूमा दैनिक ८ सय जनासम्म सेवाग्राही नाम दर्ताका लागि कार्यालय पुगेका थिए । भीड अत्यधिक भएपछि चारवटा दर्ता स्टेशन सञ्चालन गरिएको भए पनि पछिल्लो समय सेवाग्राहीको चाप घटेपछि स्टेशन तीनमा झारिएको प्रमुख साहले बताए ।

निर्वाचन आयोगले राष्ट्रिय परिचयपत्रधारी नागरिकलाई घरमै बसेर अनलाइनमार्फत मतदाता नामावली दर्ता गर्न दिने व्यवस्था लागू गरेपछि जिल्लामा दर्ता प्रक्रिया अझ सरल र पहुँचयोग्य बनेको छ । राष्ट्रिय परिचयपत्र बनाउँदा सङ्कलित बायोमेट्रिक तथ्यांक प्रयोग हुने भएकाले अनलाइन दर्ता सहज भएको कार्यालयले जनाएको छ ।

यसरी गाउँ–गाउँमै अनलाइनबाट निःशुल्क दर्ता गरिदिने व्यक्तिको संख्यामा पनि वृद्धि भएको छ । चन्द्रनगर–२ बबरगञ्जका शिवनाथ राउतले मात्र १५० जना व्यक्तिको नामावली दर्ता अनलाइनमार्फत गराइदिएका छन् । ‘वेबसाइट राम्रोसँग चल्दा पाँच–सात मिनेटमै एक जनाको दर्ता सकिन्छ,’ राउतले भने ।

अनलाइनमार्फत दर्ता गरिएको विवरण एक–दुई दिनभित्रै ‘एप्रुभ’ गरिने जिल्ला निर्वाचन अधिकारी साहले बताए । एप्रुभ भएपछि नागरिकको मोबाइलमा सन्देश आउने र सोही मोबाइलबाट मतदाता विवरणको प्रिन्टसमेत काढ्न सकिने व्यवस्था छ ।

देशभरका निर्वाचन कार्यालयमा भीड बढेपछि निर्वाचन आयोगले दर्ता म्याद पाँच दिन थप गर्दै मंसिर ५ गतेसम्म दर्ता गर्न सकिने व्यवस्था मिलाएको छ ।

मतदाता नामावली दर्ताप्रति सर्लाहीका नागरिकको उत्साह उच्च देखिएको छ । नयाँ मतदाता थपिँदै जाँदा आगामी निर्वाचनमा जिल्लाको मतदाता संख्या उल्लेख्य रूपमा बढ्ने अनुमान गरिएको छ ।