जानकी महिला जागरण समाजद्वारा १०५ साइकल वितरण, छात्रा र महिला उद्यमी लाभान्वित

जनकपुरधाम, १ मंसिर । धनुषाको गणेशमान चारनाथ नगरपालिका–५ गोदारस्थित जनता जयसवाल माध्यमिक विद्यालयमा सोमबार एक विशेष कार्यक्रममार्फत ८० जना छात्रालाई साइकल वितरण गरिएको छ ।
जानकी महिला जागरण समाजले आयोजना गरेको कार्यक्रममा विद्यालयमा अध्ययनरत छात्राहरूलाई विद्यालय आवत–जावत सहज बनाउन साइकल हस्तान्तरण गरिएको हो ।
संस्थाका प्रतिनिधिहरूका अनुसार विद्यालयसम्म टाढाबाट हिँडेर आउने छात्राहरूलाई यातायात सुविधा अभावले कठिनाइ हुने गरेको थियो । यसै समस्यालाई न्यून गर्न ‘शिक्षामा पहुँच बढाउने अभियान’ अन्तर्गत ८० विद्यार्थीलाई साइकल प्रदान गरिएको हो ।
विद्यालयका शिक्षकहरूले पनि यस्तो पहलले छात्राहरूको उपस्थिति र सिकाइमा सीधै प्रभाव पार्ने धारणा व्यक्त गरे ।
यस्तै, सोही दिन बिरेन्द्र बजारमा जलवायु मैत्री आर्थिक रूपान्तरणमार्फत महिला सशक्तिकरण परियोजनाअन्तर्गत २५ जना महिला उद्यमीलाई २५ वटा साइकल तथा २५ थान इलेक्ट्रिक तराजु वितरण गरिएको छ ।
स्थान–स्थानमा व्यवसाय गर्दा, सामान बिक्री–वितरणमा तथा बजार पहुँच विस्तारमा महिलाहरूले सहज रूपमा प्रयोग गर्न सक्ने उद्देश्यले यो सामग्री हस्तान्तरण गरिएको संस्थाले जानकारी दिएको छ ।

स्थानीय तहको आर्थिक गतिविधिमा सक्रिय महिलाहरूलाई व्यवसायिक उपकरण सहयोगले उद्यमशीलता वृद्धि हुने विश्वास आयोजकहरूले व्यक्त गरे । साथै महिला उद्यमीलाई इलेक्ट्रिक तराजु वितरण गरेको संस्थाले जनाएको छ ।
स्थानीय स्तरमा शिक्षा, महिला सशक्तिकरण र आर्थिक गतिविधिको पहुँच बढाउने उद्देश्यले गरिएको यो कार्यक्रमलाई अभिभावक, विद्यार्थी र समुदायका अग्रजहरूले सकारात्मक रूपमा स्वागत गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


