मधेशमा सात दलको आन्दोलन झनै तीव्र

जनकपुरधाम, १ मंसिर । मधेश प्रदेशमा नयाँ सरकार गठनविरुद्ध सात राजनीतिक दलले थालेको आन्दोलन सोमबार पनि जारी रह्यो ।
आन्दोलन चर्किएसँगै जनकपुरधामको प्रशासनिक कामकाजदेखि सवारी आवागमनसम्म निकै अवरुद्ध बन्न पुगेको छ ।
सात दलका नेता, सांसद र कार्यकर्ताहरू बिहानैदेखि राष्ट्रिय झण्डा बोकेर मधेश भवन अगाडि उत्रिए । उनीहरूले आधा सडक अवरुद्ध गर्दै शान्तिपूर्ण धर्ना जारी राखे ।
‘संघीयता मिच्न पाइँदैन’, ‘असंवैधानिक मुख्यमन्त्री खारेज गर’, ‘धारा १६८ को दुरुपयोग बन्द गर’ जस्ता नारा घन्किँदै मधेश भवन वरिपरि वातावरण तनावपूर्ण बनेको थियो ।
विरोधमा सात दल नेपाली कांग्रेस, जसपा, लोसपा, जनमत पार्टीसहित विपक्षमा रहेका दल एकजुट भइरहेका छन् । विश्वासको मत नपाएपछि तत्कालीन मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलले सञ्चालन गर्न नसकेको सरकारलाई धारा १६८(३) को गलत व्याख्यामा आधारित भएर नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई नियुक्त गरिएको हो ।
सात दलका नेताहरूले भने, ‘सबैभन्दा ठूलो दलको आधार के हो? विश्वासको मत गुमाएका सरकारपछि विकल्प के हो? प्रदेश प्रमुखको अधिकार सीमा कहाँसम्म हो? यी सबै प्रश्नको जवाफ राजनीति नभई संविधानले दिन्छ । तर, त्यो व्याख्या मनपरी ढंगले प्रयोग गरिएको छ ।’
कार्तिक २२ गते मुख्यमन्त्री सोनलले विश्वासको मत पाउन असफल भएपछि भोलिपल्टै तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले धारा १६८(३) अनुसार एमाले नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन् ।
यही निर्णयलाई सात दलले ‘असंगत’, ‘असमय’ र ‘असंवैधानिक प्रक्रिया’ भन्दै प्रश्न उठाएका हुन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


