खानेपानी कार्यालय बाराका निमित्त प्रमुखसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

बारा, ३० कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको ठेक्का प्रक्रिया सम्बन्धी ठुलो भ्रष्टाचार प्रकरणमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।
आयोगले तत्कालीन निमित्त डिभिजन प्रमुख, लेखापाल र दुई सञ्चारमाध्यमका प्रतिनिधिविरुद्ध आरोपपत्र पेश गरेको हो ।
आयोगका अनुसार आ.व. २०७९÷८० का २३ वटा निर्माणसम्बन्धी बोलपत्र सूचना सार्वजनिक खरिद ऐनअनुसार राष्ट्रिय दैनिकमा प्रकाशन गर्नुपर्नेमा डिभिजन कार्यालयले सूचना लुकाएको पाइएको छ ।
कलैयास्थित डिभिजन कार्यालयले सूचना छापिएको भान गराउन भौतिक अभिलेखमा प्रतिमात्र एक प्रभाव दैनिक राखेको देखिएको छ । तर, प्रेस काउन्सिल र प्रकाशकको पुष्टि अनुसार सो सूचना पत्रिकामा प्रकाशित नै भएको थिएन ।
अख्तियारले भेटाएको तथ्य अनुसार सूचना नछापिएको अवस्थामा पनि किर्ते बिल बनाएर सान्दर्भिक मिडिया नेटवर्क प्रालिलाई ३ लाख १६ हजार ५७० रुपैयाँ भुक्तानी गरिएको थियो । सो कम्पनीको खाताबाट ५० हजार रुपैयाँ प्रभाव दैनिकका बजार प्रबन्धक सन्तोषराज खरेलले लिएको पनि आयोगले जनाएको छ ।
आयोगले उक्त कार्यलाई सार्वजनिक सम्पत्तिमा हानि पुर्याउने बदनियतपूर्ण भ्रष्टाचारको रुपमा ठहर गर्दै तत्कालीन निमित्त डिभिजन प्रमुख किशोरी प्रसाद यादव र लेखापाल प्रदीप दासलाई मुख्य कसुदारका रूपमा ३ लाख १६ हजार ५७० रुपैयाँ बिगो र कैद सजायको माग गरेको छ ।
यस्तै, सान्दर्भिक मिडिया नेटवर्क प्रालिका प्रबन्धक निसान्त सिग्देल र प्रभाव पब्लिकेशन प्रालिका बजार प्रबन्धक सन्तोषराज खरेललाई पनि सोही बराबरको बिगो र कानुनी कारबाही माग गरिएको छ ।
अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार सार्वजनिक विज्ञापन लुकाएर ठेक्का प्रक्रियामा हस्तक्षेप गर्नु ‘भ्रष्टाचार निवारण ऐन, २०५९’ को दफा ८९ (१)(९) अन्तर्गतको कसूर हो । आयोगले यो कार्यलाई बदनियतपूर्ण र सार्वजनिक हितविपरीतको अपराधको रुपमा लिएको बताएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


