जनकपुरधाम, २९ कार्तिक । भारतको सोनपुरस्थित हरिहर क्षेत्र धामका ख्यातिप्राप्त साधु मौनीबाबा ८४ कोश परिक्रमा यात्राका क्रममा शनिबार पहिलोपटक जनकपुरधाम आइपुगेका छन् ।

परम्परागत मिथिला चौरासी कोश परिक्रमा यात्रामा दीर्घकालीन आध्यात्मिक साधनाका लागि प्रसिद्ध मौनीबाबाको सहभागिता यस वर्ष विशेष रूपमा उल्लेखनीय मानिएको छ ।

जनकपुरधाम आगमनपछि मौनीबाबाले जानकी मन्दिरमा विशेष पूजाअर्चना गर्दै रामजानकीको दर्शन गरेका थिए । दर्शनपछि मन्दिर परिसरमा बोल्दै उनले जनकपुरधामलाई धार्मिक तथा आध्यात्मिक चेतनाको केन्द्र भन्दै धर्म, श्रद्धा र सत्यको मार्गमा सबै एकताबद्ध भएर अघि बढ्नु आजको आवश्यकता रहेको बताए ।

मौनीबाबाको आगमनसँगै जानकी मन्दिर क्षेत्र शनिबार बिहानैदेखि नै भक्तजनले भरिभराउ भएको थियो । उनको दर्शन र आशीर्वादका लागि स्थानीय तथा बाहिरबाट आएका भक्तहरूको भीड बढेको थियो । साधु–सन्तको उपस्थिति र धार्मिक टोलीको यात्रा जनकपुरधाममा उल्लासमय वातावरण बनेको थियो ।

८४ कोश परिक्रमा मिथिलाको सांस्कृतिक, धार्मिक र ऐतिहासिक पहिचानसँग जोडिएको छ । नेपाल र भारतका हजारौँ भक्तजन सहभागी हुने यो परिक्रमा अहिले देश–विदेशका तीर्थयात्रीको व्यापक सहभागितामा जारी छ ।

यस वर्ष पहिलोपटक पाँचदिवसीय हरिहर क्षेत्र–मिथिला चौरासी कोश संकीर्तन परिक्रमा आयोजना गरिएको छ । भारतको हाजीपुरस्थित हरिहर क्षेत्रबाट सुरु भएको यो धार्मिक यात्रा शनिबार जनकपुरधाम आइपुगेको हो । साँझ भिठ्ठामोड–महोत्तरी सीमा क्षेत्रमा जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासले परिक्रमा टोलीलाई स्वागत गरेका थिए । त्यसपछि जानकी मन्दिरका साधुसन्तको अगुवाइमा परिक्रमा टोलीलाई विशेष सम्मानसहित मन्दिर ल्याइएको थियो ।

जनकपुरधाम यात्रा सम्पन्न भएपछि परिक्रमा टोली भारतको दरभंगा, अहिल्यास्थान, पातरपुर, सिमरिया र विशौल हुँदै पुनः हाजीपुर फर्किनेछ । परिक्रमा मार्गका यी सबै गन्तव्य मिथिला सभ्यता, रामायण इतिहास र वैदिक परम्परासँग गहिरो सम्बन्ध भएका स्थल मानिन्छन् ।