सप्तरी, २९ कार्तिक । सप्तरीको राजविराजमा करदाता सेवा कार्यालय अन्यत्र सार्ने सरकारी तयारीविरुद्ध सञ्चालन गरिएको हस्ताक्षर अभियानबाट संकलित हस्ताक्षर प्रधानमन्त्रीलाई पठाउने जिम्मा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेललाई दिइएको छ ।

उद्योग वाणिज्य संघ सप्तरीको अगुवाइमा कार्तिक २२ गतेदेखि चलिरहेको हस्ताक्षर अभियान अन्तर्गत करिब पाँच हजारभन्दा बढी नागरिकको हस्ताक्षर संकलन गरी सीडीओमार्फत प्रधानमन्त्री सुशिला कार्कीलाई पठाइएको हो ।

उद्योग वाणिज्य संघका महासचिव अमृत संचेतीका अनुसार राजविराजको गजेन्द्र चोकमा निरन्तर रूपमा हस्ताक्षर संकलन गरिएको थियो । ‘करदाता सेवा कार्यालय कुनै हालतमा सार्न हुन्न भन्ने प्रतिवादस्वरूप संकलित हस्ताक्षर प्रधानमन्त्रीलाई बुझाइएको छ,’ संचेतीले भने ।

संघका पदाधिकारीहरू कालोपट्टी बाँधेर जिल्ला प्रशासन कार्यालय पुगेका थिए । उनीहरूले करदाता सेवा कार्यालय सरुवा गरिए व्यापार व्यवसाय प्रभावित हुने भन्दै हस्ताक्षरित प्रतिवेदन सीडीओ पोखरेललाई बुझाउँदै तत्काल सरकारी निर्णय रोक्न आग्रह गरे ।

करदाता सेवा कार्यालय सार्ने योजना विरुद्ध संघले केही हप्तादेखि निरन्तर आन्दोलन गरिरहेको छ । यसअघि धर्ना, विरोधसभा र हस्ताक्षर संकलन अभियान सञ्चालन गरिसकेको संघले शनिबार पनि कालोपट्टी बाँधेर कारोबार गरेको छ ।

उद्योग वाणिज्य संघका अध्यक्ष लालुप्रसाद अग्रवालका अनुसार शनिबार दिउँसो ३ बजे भेला भएर प्रतिवाद प्रदर्शन गरियो । साथै, आन्दोलनअन्तर्गत कार्तिक ३० गते आइतबार बिहान १० देखि ११ बजेसम्म जिल्ला प्रशासन कार्यालय अगाडि एक घण्टा धर्ना बस्ने कार्यक्रम तय भएको छ ।

अध्यक्ष अग्रवालले राजविराज र आसपासका क्षेत्रमा ७० हजारभन्दा बढी करदाता रहेको अवस्थामै करदाता सेवा कार्यालय सार्ने सरकारी तयारी अनुचित भएको बताएका छन् ।