कर्मचारीमाथि कुटपिटप्रति युनियनको आक्रोश, दोषीमाथि कानूनी कारबाही नभए आन्दोलनको चेतावनी

जनकपुरधाम, २५ कार्तिक । मधेश प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत कर्मचारीमाथि गरिएको कुटपिटप्रति नेपाल निजामती कर्मचारी युनियन मधेश प्रदेशले खेद व्यक्त गरेको छ ।
युनियनले दोषीमाथि कानुन बमोजिमको कडा कारवाही नभए आन्दोलनको चेतावनी समेत दिएको छ ।
यस सम्बन्धमा मंगलबार युनियनका अध्यक्ष राज किशोर राउतको संयोजकत्वमा नेपाल निजामती कर्मचारी संगठनसहितको संयुक्त टोलीले धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुईंटेललाई ज्ञापनपत्र बुझाएको छ ।

ज्ञापनपत्रमा कर्मचारीमाथि गरिएको अशिष्ट व्यवहार र आक्रमणलाई गम्भीर सुरक्षा चुनौतीको रुपमा हेरिएको उल्लेख गरिएको छ । युनियनले दोषीमाथि छिटो र कठोर कारबाही नगरे आन्दोलनको माध्यमबाट आवाज उठाउने चेतावनी दिएको छ ।
नेपाल निजामती कर्मचारी युनियनका अनुसार कर्तव्यनिष्ठ कर्मचारीमाथि यस्तो व्यवहार कुनै हालतमा सह्य हुँदैन । दोषीमाथि कानुन अनुसारको कारवाही नभए कानुनी र शान्तिपूर्ण तरिकाले कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिइएको छ ।

