जनकपुरधाम, २५ कार्तिक । मधेश प्रदेशमा नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादव र उनका मन्त्रीपरिषद्का अन्य सदस्यहरूको नियुक्ति असंवैधानिक भएको भन्दै सात दलिय गठबन्धनले सार्वजनिक बहिष्कार र विरोधको घोषणा गरेको छ ।

गठबन्धनले संविधान, संघीयता र संघीय लोकतान्त्रिक गणतन्त्रको संरक्षणका लागि सम्पूर्ण मधेश प्रदेशवासीलाई शान्तिपूर्ण आन्दोलनमा सहभागी हुन आह्वान गरेको छ ।

तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीद्वारा कार्तिक २२ गते असंवैधानिक तरिकाबाट सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको सात दलिय गठबन्धनको विज्ञप्तिमा उल्लेख छ । गठबन्धनले यसलाई संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म विपरित भएको भन्दै निन्दा गरेको छ ।

नियुक्तिको विरोधमा भइरहेको शान्तिपूर्ण आन्दोलनको क्रममा सुरक्षाकर्मीद्वारा आन्दोलनकारीहरू माथि गरिएको लाठीचार्ज, आश्रुग्यास प्रहार र अन्य दमन कार्यको पनि गठबन्धनले भत्र्सना गरेको छ । साथै, आन्दोलनको क्रममा घाइते भएका सबै आन्दोलनकारीहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको छ ।

सरोजकुमार यादवले महोत्तरी र सिन्धुली सिमानाकै नजिक रहेको पानस वार एण्ड रेस्टुरेन्टमा शपथ ग्रहण गरेका थिए । गठबन्धनले यसलाई संवैधानिक मर्यादा विपरित भएको बताउँदै जनताको अधिकार र संघीयता रक्षा गर्नको लागि प्रदेशवासीलाई एकजुट हुन आग्रह गरेको छ ।

सात दलिय गठबन्धनले बुधबार बिहान ८ः३० बजेदेखि विरोध तथा शान्तिपूर्ण आन्दोलन सञ्चालन हुने जानकारी दिएको छ । गठबन्धनले सबै घटक दलका नेता कार्यकर्तालाई सहभागी हुन अनुरोध गरेको छ ।