जनकपुरधाम, २५ कार्तिक । तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)ले मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति असंवैधानिक भएको भन्दै तत्काल राजीनामा दिन माग गरेको छ ।

पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले वर्तमान प्रदेश सरकारको गठन प्रक्रिया संविधानको मर्म विपरीत भएको ठहर गर्दै आपत्तिजनक रूपमा होटेल वा कटेजमा शपथ ग्रहण गराउनु मर्यादाको मजाक भएको टिप्पणी गरेको छ ।

तराई मधेश लोकतान्त्रिक पार्टीका नेता तथा प्रचार विभाग प्रमुख उमेश कुमार मण्डलका अनुसार बैठकले तत्कालिन प्रदेश प्रमुखको भूमिका अस्थिरता सिर्जना गर्ने प्रकारको भएको भन्दै धारा १६८ को उपधारा (३) को प्रयोग हालको अवस्थामा असंवैधानिक भएको स्पष्ट गरेको छ ।

उनले भने, ‘प्रदेश प्रमुखले गराएको शपथ ग्रहण असंवैधानिक मात्र नभई सुनसान रातमा होटल, कटेज वा मोटेलमा आयोजना गर्नु आपत्तिजनक मात्र होइन, गलत अभ्यास भएको तथ्यलाई प्रमाणित गर्दछ । यस अवस्थाबाट उचित निकास र संवैधानिक व्यवस्थालाई लीकमा ल्याउन नवनियुक्त मुख्यमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ ।’

बैठकमा पार्टीले आगामी फागुन २१ गते हुने चुनावमा सहभागी हुने निर्णय समेत सार्वजनिक गरेको छ । यसका साथै, संघीय लोकतान्त्रिक मोर्चाका घटक दलहरूबीच एकता आवश्यक रहेको ठहर गर्दै एकीकरणका लागि वातावरण निर्माणमा सक्दो प्रयत्न गर्ने नीति अवलम्बन गर्ने निर्णय पनि भएको मण्डलले जानकारी दिए ।