नवनियुक्त मुख्यमन्त्री यादवले सम्हाले कार्यभार

जनकपुरधाम, २५ कार्तिक । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार औपचारिक रूपमा पदभार ग्रहण गरेका छन् ।
कार्यभार सम्हाल्ने बित्तिकै उनले मधेश आन्दोलनका शहीदहरूलाई ‘मधेश रत्न सम्मान’बाट सम्मानित गर्ने निर्णय गरेका छन् ।
मुख्यमन्त्री यादवले पदभार ग्रहण गर्दै मधेश आन्दोलनका शहीदहरूको बलिदानले नै आजको संघीय गणतान्त्रिक नेपाल सम्भव भएको उल्लेख गरे ।
उनले भने, ‘संघीयता, पहिचान र अधिकारका लागि मधेशका शहीदहरूले दिएको योगदान अतुलनीय छ । तर, उनीहरूलाई अझैसम्म राज्यले योग्य सम्मान गर्न सकेको छैन । अब ती शहीदहरूलाई संस्थागत रूपमा सम्मान गर्ने हाम्रो पहिलो प्राथमिकता हुनेछ ।’
मुख्यमन्त्री यादवको पहिलो निर्णयका रूपमा मधेश आन्दोलनका शहीदहरूलाई मधेस रत्न सम्मानबाट सम्मानित गर्ने घोषणा गरिएको हो । उनका अनुसार यस सम्मानमार्फत शहीदहरूका परिवारप्रति राज्यको कृतज्ञता प्रकट गरिनेछ र मधेश आन्दोलनको योगदानलाई औपचारिक रूपमा स्मरण गरिनेछ ।
यादवले भने, ‘अहिलेसम्म शहीद परिवारलाई केही आर्थिक सहयोग त गरिएको छ, तर त्यो पर्याप्त होइन । हामी अब शहीदहरूको सम्झनामा मधेश सरकारको तर्फबाट ऐतिहासिक र सम्मानजनक कार्यक्रम सञ्चालन गर्नेछौँ ।’
मुख्यमन्त्री कार्यालयका अनुसार उनले प्रदेश सरकार अब जनताको भरोसाको सरकार बन्ने प्रतिबद्धता जनाएका छन् ।

