जनकपुरधाम, २५ कार्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको निर्णयविपरीत मधेश प्रदेशमा मन्त्री बनेकी आफ्नी सांसद कञ्चन बिच्छा साहलाई २४ घण्टाभित्र लिखित स्पष्टीकरण दिन निर्देशन दिएको छ ।

राप्रपाको केन्द्रीय अनुशासन आयोगले मंगलबार साहलाई पत्र पठाउँदै पार्टीको नीति, सिद्धान्त र हित विपरीत गतिविधि गरेको कारण देखाउँदै स्पष्टीकरण माग गरेको हो ।

राप्रपाका प्रवक्ता मोहन कुमार श्रेष्ठका अनुसार अनुशासन समितिका सदस्य भक्ति प्रसाद सिटौलाको हस्ताक्षरमा पठाइएको पत्रमा साहले एमाले नेतृत्वको सरोजकुमार यादव सरकारमा कुनै छलफल वा परामर्शबिना सहभागी भएकी उल्लेख छ । पार्टीले यस कार्यलाई संगठनको अनुशासन र आचारसंहिताको गम्भीर उल्लङ्घन मानेको जनाएको छ ।

स्पष्टीकरण पत्रमा भनिएको छ, ‘तपाईंले पार्टी नेतृत्वसँग कुनै परामर्श नगरी प्रदेश सरकारमा सामेल भएको कार्य पार्टीको नीति, सिद्धान्त र निर्णय विपरीत भएको ठहर गरिएको छ । यस सम्बन्धमा किन कारबाही र सजाय गर्न नपर्ने हो । प्रमाणसहित २४ घण्टाभित्र लिखित स्पष्टीकरण पेस गर्न अनुरोध गरिन्छ ।’

यसअघि सोमबार राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पनि सार्वजनिक रूपमा यो घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका थिए । उनले राप्रपाको तर्फबाट मधेश प्रदेश सरकारमा सहभागी हुनु अनुशासनको उल्लङ्घन भएको भन्दै साहलाई तत्काल मन्त्री पदबाट फिर्ता हुन निर्देशन दिएका थिए । तर, उनले अहिलेसम्म राजीनामा दिएकी छैनन् ।

पार्टी स्रोतका अनुसार यदि साहको स्पष्टीकरण सन्तोषजनक नभएमा उनलाई पार्टी विधानअनुसार अनुशासनात्मक कारबाही गर्न सकिने बताइएको छ ।

मधेश प्रदेशमा सरोजकुमार यादवको नेतृत्वमा गठन भएको वर्तमान सरकारलाई प्रारम्भदेखि नै विवादित ठहर गरिएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीमाथि नयाँ सरकार गठनका क्रममा ‘संवैधानिक जालझेल’ गरेको आरोप लागेको थियो । यही विवादकै आधारमा संघीय सरकारले उनलाई पदमुक्त गरिसकेको छ ।

साहले भने अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया दिएकी छैनन् । मधेशको राजनीतिक परिदृश्य फेरि एकपटक दलगत अनुशासन र सत्ता समीकरणबीचको द्वन्द्वको केन्द्रबिन्दु बनेको छ ।