राष्ट्रपतिद्वारा मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्त

काठमाडौं, २५ कार्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा मंगलबार सुवेदीलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम उनी पदमुक्त भएकी हुन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सुवेदीलाई पदमुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको थियो । सुवेदी पछिल्लो समय मधेश प्रदेशमा उत्पन्न राजनीतिक विवादको केन्द्रमा परेकी थिइन् ।
गत कार्तिक २२ गते मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत नपाउने देखिएपछि प्रदेश सभामा राजीनामा घोषणा गरेपछि सत्तारूढ गठबन्धन भत्किएको थियो । त्यसपछि सुवेदीले संविधानको धारा १६८(३) बमोजिम नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई प्रदेशको मुख्यमन्त्री नियुक्त गरेकी थिइन् ।
तर, उक्त निर्णय संविधान र प्रक्रियाविपरीत भएको भन्दै अन्य दलहरू आक्रोशित बनेका थिए । उनीहरूले यो नियुक्तिलाई संवैधानिक मर्यादाको उल्लंघन र राजनीतिक स्वार्थमा गरिएको निर्णय भन्दै विरोध जनाएका थिए ।
अझ विवादास्पद बनेको कुरा भने सोमबार बिहानको घटनाले हो । स्वास्थ्य उपचारका लागि काठमाडौं जाँदैछु भन्दै निस्किएकी प्रदेश प्रमुख सुवेदीले महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित पानस होटलमा बिहानै झिसमिसेमा मुख्यमन्त्री सरोजकुमार यादवलाई शपथ ग्रहण गराएकी थिइन् ।
यो घटनापछि मधेशको राजनीतिक वृतमा ठूलो हलचल मच्चिएको थियो । विपक्षी दलहरूले यसलाई ‘गुप्त रूपमा गरिएको असंवैधानिक कदम’ भन्दै तत्कालीन प्रदेश प्रमुखको राजीनामा माग गरेका थिए ।
होटलमा गरिएको शपथपछि सोमबार बेलुका बसेको मन्त्रिपरिषद्को बैठकले सुवेदीलाई पदमुक्त गरी उनको स्थानमा सुरेन्द्र लाभ कर्णलाई मधेश प्रदेशको नयाँ प्रमुख नियुक्त गर्न सिफारिस गरेको थियो ।
सिफारिस राष्ट्रपतिसमक्ष पुगेपछि मंगलबार बिहानै राष्ट्रपति पौडेलले निर्णयलाई स्वीकृति दिँदै सुवेदीलाई पदमुक्त गरे ।


