जनकपुरधाम, २० कार्तिक । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनलले राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न सबै निकायलाई सहयोग गर्न अपिल गरेका छन् ।

राष्ट्रव्यापी रूपमा आज र भोली सञ्चालन हुने भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत ६ महिना देखि ५ वर्ष मुनिका सबै बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र १ वर्ष देखि ५ वर्ष मुनिका बालबालिकालाई जुकाको औषधि (अलवेन्डाजोल ट्याबलेट) खुवाइनेछ ।

मुख्यमन्त्री सोनलले अपिलमार्फत मधेश प्रदेशका सबै स्थानीय तह, स्वास्थ्य संस्था, महिला स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्यकर्मीहरूलाई उक्त अभियानमा सक्रिय सहभागिता जनाउन आग्रह गरेका छन् ।

उनले बालबालिकाको स्वास्थ्य सुरक्षामा यो कार्यक्रम महत्वपूर्ण रहेको बताउँदै प्रदेश सरकार यसको सफलताका लागि पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका सबै निकाय र सरोकारवालालाई समेत सक्रिय भूमिका निर्वाह गर्न आग्रह गर्दै उनले हरेक बालबालिकासम्म कार्यक्रमको पहुँच सुनिश्चित गर्न जनचेतना र सहकार्यलाई जोड दिएका छन्।

प्रदेशभरका वडास्तरमा स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकामार्फत यो अभियान सञ्चालन भइरहेको जनाइएको छ ।