सप्तरी, १९ कार्तिक । मैथिली महिला सञ्जाल सप्तरीका महिलाहरूले बुधबार सामूहिक रूपमा सामा चकेवा खेल्दै स्थानीय संस्कृतिको उत्सव मनाएका छन् । दाजुभाइको दीर्घायुको कामना गर्दै आयोजित कार्यक्रम स्थानीय शिव मन्दिरको प्राङ्गणमा धुमधामका साथ सम्पन्न भएको हो ।

मैथिली अभियानी एवम् शिक्षिका ललिता झाले भनिन्, ‘छठपूजासँगै सप्तरीसहित तराई मधेशका दिदीबहिनीहरूले माटोको सामा चकेवा र अन्य मानवरूपी पात्रहरू बनाएर घरघरमा खेल्दै आएका छन् । अन्तिम दिन विभिन्न टोल समुदायका दिदीबहिनीहरूले मिलेर समूहमा खेल्दै रमाइलो मात्र गरेनन्, मधेशको रीतिरिवाज र संस्कृतिलाई निरन्तरता दिन पनि सबै उत्साहित भए ।’

सामा चकेवा परापूर्वकालदेखि मधेस र थारू समुदायमा खेलेको परम्परागत खेल हो । कार्यक्रम संयोजक रश्मि झाले भनिन्, ‘सामा चकेवा छठपूजाको खरनाको दिनदेखि शुरू भई कार्तिक पूर्णिमाको दिन विसर्जन गरिन्छ । विसर्जनपछि दिदीबहिनीहरूले दही, चिउरा, मिठाइ लगायतको प्रसादी बाँडेर समूहमा बसेर खाने चलन छ ।’

स्थानीयले सामा चकेवाको माध्यमबाट मात्र मनोरञ्जन नभई सामाजिक सद्भाव, समुदायको एकता र सांस्कृतिक परम्पराको संरक्षण पनि सुनिश्चित भएको बताइरहेका छन् । आयोजक महिला समूहले यस परम्परालाई निरन्तरता दिन आगामी वर्ष पनि कार्यक्रम आयोजना गर्ने योजना बनाएको छ ।