सप्तरी, १९ कार्तिक । सप्तरीको छिन्नमस्ता गाउँपालिका–५ लोखरम मुसहर बस्तीमा हैजा प्रकोप देखिएको छ । आरडिटी परीक्षणमा ११ जनामध्ये पाँच जनामा हैजा पुष्टि भएको छ । उनीहरू राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचाररत छन् ।

छिन्नमस्ता गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दीपेन्द्र यादवका अनुसार एक जनाको स्थानीय स्वास्थ्य संस्था लोखरममा उपचार भइरहेको छ । सुरुमा झाडापखालाका कारण ७८ जना बिरामी भएका थिए । त्यसमध्ये २६ जना उपचारपछि निको भई घर फर्किसकेका छन् ।

स्वास्थ्यकर्मीहरूको टोली घरघर पुगेर सामान्य झाडापखालाका बिरामीलाई उपचार गर्दै आएको छ । यादवले भने, ‘तीन दिनअघि अवस्था जटिल थियो । तर, स्वास्थ्यकर्मी निरन्तर खटिरहेकाले अहिले स्थिति सहज हुँदै गएको छ ।’

बस्तीमा झाडापखालाका कारण एकै परिवारका तीन जनाको मृत्यु भएको थियो । गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले पनि स्वास्थ्यकर्मीलाई परिचालन गरी निरन्तर निगरानी राखिएको जानकारी दिए । उनले नौ जनाको दिसा नमुना कल्चर गर्न जनकपुरधामस्थित प्रदेशिक प्रयोगशालामा पठाइएको पनि बताए ।

स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख सतीश यादवका अनुसार झाडापखालाका बिरामीले चेतनाको अभावमा नमुना दिन नचाहेका कारण समस्या समाधानका लागि अस्थायी शौचालय, शुद्ध खानेपानी र सरसफाइका प्रक्रिया सुरु गरिएको छ ।

विपन्न मुसहर बस्तीमा करिब ९० परिवार बसोबास गर्दैछन् र शौचालयको अभाव छ । खुला स्थानमा नै दिसापिसाब हुँदा जमेको पानी र हिलोमा दूर्गन्ध फैलिएर हैजा प्रकोपको सम्भावना रहेको स्थानीय स्वास्थ्यकर्मीले अनुमान गरेका छन् । गाउँपालिकाका अध्यक्ष चौधरीका अनुसार पानीको निकास र सरसफाइको कमीले बस्तीमा महामारी फैलिनु मुख्य कारण हो ।

स्थानीय प्रशासन र स्वास्थ्यकर्मीले २४ घण्टा निगरानी राख्दै उपचार र रोकथाममा जुटेका छन् ।