पर्सा, १९ कार्तिक । सशस्त्र प्रहरी बल पर्साले नेपाल–भारत सीमा नजिक कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ ।

बुधबार अपराह्न गस्तीका क्रममा सीमा स्तम्भ नम्बर ३९०–२२ नजिक उनीहरूलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी पर्साका प्रवक्ता विश्वराज योन्जनले जानकारी दिए ।

पक्राउ पर्नेमा वीरगंज महानगरपालिका–५ कुम्हाल टोल निवासी १८ वर्षीय सुमित कुमार मण्डल र जीतपुरसिमरा उपमहानगरपालिका–८ का २८ वर्षीय सन्जय कुमार साह कलवार रहेका छन् ।

झाडीमा लुकिछिपी बस्दै गरेका उनीहरूको साथबाट बोरामा राखिएको कटुवा पेस्तोल बरामद भएको प्रवक्ता योन्जनले बताए ।

सशस्त्र प्रहरीले घटनास्थलमा तत्काल नियन्त्रणमा लिएर आवश्यक कानूनी कारबाहीका लागि जिल्ला प्रहरी पर्सालाई जिम्मा लगाएको छ । थप अनुसन्धान जारी रहेको पर्सा प्रहरीले जनाएको छ ।

स्थानीय सुरक्षा निकायले सीमा क्षेत्रमा असुरक्षित गतिविधि र अवैध हतियारको नियन्त्रणमा विशेष निगरानी राख्ने प्रतिबद्धता जनाएको छ ।