सप्तरी, १९ कार्तिक । सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिकामा अध्यक्ष दिनानाथ चौधरीको राजीनामालाई लिएर तीव्र विवाद भएको छ ।

राजीनामा पत्र किर्ते भएको दाबी गर्दै अध्यक्ष चौधरी र उपाध्यक्ष कल्पना चौधरीबीच आरोप प्रत्यारोप सुरु भएको हो ।

गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीले आफूले राजीनामा नदिएको स्पष्ट गर्दै उपाध्यक्ष कल्पना चौधरीले षड्यन्त्रपूर्वक किर्ते र जालसाजीपूर्ण पत्र बनाएर राजनीतिक लाभ लिन खोजेकी आरोप लगाएका छन् ।

उनका अनुसार राजीनामा सम्बन्धी पत्र नक्कली हो र आफूले त्यस्तो कुनै पनि कागजमा हस्ताक्षर गरेका छैनन् ।

तर, उपाध्यक्ष कल्पना चौधरीले भने आफूले अध्यक्षको राजीनामा पत्र आधिकारिक रूपमा प्राप्त गरेको दाबी गरेकी छन् । उनले भनिन्, ‘अध्यक्षले आफैं राजीनामा पत्र बुझाएका हुन् । त्यसपछि मात्रै मैले कार्यालयमा बुझाएको हुँ ।’

अध्यक्ष चौधरी केही दिनअघि वडाध्यक्षबाट खुट्टा मालिस गराएको भिडियो सार्वजनिक भएपछि चर्चामा आएका थिए । भिडियो भाइरल भएपछि गाउँपालिकाभित्र चर्को आलोचना र दबाब बढेको थियो । त्यही घटनापछि अध्यक्षविरुद्ध राजीनामाको हल्ला फैलिएको स्थानीयहरूले जनाएका छन् ।

राजीनामा विवाद सार्वजनिक भएपछि गाउँपालिकाको प्रशासनिक काममा असर परेको छ । कर्मचारीहरू दुई पक्षमा बाँडिँदै कार्यालयको वातावरण तनावग्रस्त बनेको स्थानीय स्रोतले जनाएको छ ।

स्थानीय नागरिकहरूले गाउँपालिकाका जनप्रतिनिधिहरूबीचको विवादले विकास र सेवा प्रवाहमा बाधा पुगेको भन्दै तत्काल समाधान खोज्न आग्रह गरेका छन् ।

जिल्ला प्रशासन कार्यालयले भने दुवै पक्षको बयान लिने तयारी गरेको र आवश्यक भए कानूनी प्रक्रिया अघि बढाइने जनाएको छ ।