खैरो हेरोइनसहित एक युवक पक्राउ

सिरहा, १९ कार्तिक । सिरहाको गोलबजार नगरपालिका–८ स्थित पुरानो चोहर्वाबाट प्रहरीले खैरो हेरोइनजस्तो देखिने पदार्थसहित एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले गोप्य सूचनाका आधारमा विशेष अपरेशन सञ्चालन गर्दै पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय गोलबजार र लागुऔषध नियन्त्रण ब्युरोको संयुक्त टोलीले गोलबजार–१० महाजन टोलका करिब २० वर्षीय रूपेश सिंहलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार सिंहको साथबाट सानो कालो प्लास्टिकको पोकामा लुकाएर राखिएको दुई ग्राम १३० मिलिग्राम तौलको खैरो हेरोइनजस्तो देखिने पदार्थ बरामद गरिएको छ । उनले भने, ‘सिंहले लागुऔषध बिक्री वितरण गर्दै आएको गोप्य सूचनाको आधारमा पक्राउ गरिएको हो ।’
पक्राउ परेका सिंहलाई हाल गोलबजारस्थित प्रहरी कार्यालयमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसअघि गत आइतबार राति प्रहरीले लहान र कर्जन्हाबाट पनि खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको थियो । पछिल्ला केही महिनादेखि सिरहा र धनुषा क्षेत्र लागुऔषधको ओसारपसार र प्रयोगका कारण प्रहरीको विशेष निगरानीमा रहेका छन् ।
प्रहरीले लागुऔषध नियन्त्रणलाई प्राथमिकता दिँदै युवामाझ फैलिँदो लागू पदार्थको दुरुपयोग रोक्न स्थानीय निकाय र समुदायसँग सहकार्य गरिने जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


