निरन्तरको वर्षाले धानबालीमा ठूलो क्षति, किसान चिन्तित

सप्तरी, १६ कार्तिक । मधेश प्रदेशका विभिन्न जिल्लामा तीन दिनदेखि निरन्तर परेको वर्षाले भित्र्याउन तयार अवस्थामा रहेको धानबालीमा अत्यधिक क्षति पुर्याएको छ । खासगरी पाकेको धान खेतमै डुब्दा किसानहरू आक्रोशित र चिन्तित बनेका छन् ।
महादेवा गाउँपालिका–१ स्थित सोनराका रमेश मण्डलका पाँच कठ्ठा धान वर्षाको पानीमा डुबेर नष्ट भएको छ । उनले वर्षाबाट ठूलो आर्थिक घाटा भएको भन्दै दुःख व्यक्त गरे ।
त्यसैगरी, तिलाठी कोइलाडी गाउँपालिका–७ का गुलाव रामका दस कठ्ठा धान काटेर खेतमै राखेको अवस्थामा वर्षाले डुबेर लाखौं रुपैयाँ बराबरको क्षति पुगेको छ । पीडित स्थानीय किसान नित्यानन्द सिंहले पनि वर्षाका कारण काटेर राखेको धान बर्बाद भएको जानकारी दिए ।
कृषक राजकुमार यादवले भने, ‘धान पानीले भिजेपछि मेहनत र लगानी दुवै खेर गएको छ । अब केही गर्न सकिँदैन ।’ बिहीबारदेखि सामान्य वर्षा भए पनि शुक्रबार रातिदेखि शनिबारसम्म निरन्तर मुसलधारे वर्षा भएपछि धानबालीमा ठूलो क्षति पुगेको कृषि जानकार दीपेन्द्र माझीले बताए ।
स्थानीय किसान बेचन यादवले भने, ‘निरन्तर वर्षाले पाकेको धान बर्बाद भयो, ठुलो मारमा परेको छौं, अब जीवन चलाउने अवस्था कष्टकर बनेको छ ।’ वर्षाले छिटो पाक्ने कतरनी, साइठी, कान्छी जातका धानलाई सबैभन्दा बढी असर पुगेको कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख किसुनदेव राउतले बताए ।
उनका अनुसार बासमती, चनन्चुर, कान्छी लगायतका जातका धान पूर्णरूपमा नपाके पनि बोट ढलेर डुबेका कारण यस वर्षको उब्जनीमा ठूलो कमी आउन सक्ने अनुमान छ ।
तिलाठी कोइलाडी–६ का अशोक यादवले भने, ‘धान काट्न तयार थियो । तर, वर्षा र बाढीको पानीले बोट समेत ढलेर नष्ट भयो, हाम्रो मेहनत र लगानी दुवै खेर गएको छ ।’
किसान शिवनारायण यादवले पनि खेत पानीले भरिएको र काटेर थन्क्याउने बेलाको धान डुबेर नष्ट भएको बताए । उनले भने, ‘अब वर्षभरि के खाने र कसरी जीवन चलाउने भन्ने ठूलो समस्या खडा भएको छ ।’ यसैगरी, स्थानीय वासुदेव यादवले खेतबारी र करेसाबारीमा लगाएका तरकारी बाली पनि वर्षाले नष्ट भएको जानकारी दिए ।
स्थानीय कृषकहरू निरन्तर वर्षाबाट धानबालीको क्षति कम गर्न र आगामी उत्पादनका लागि उपयुक्त तयारी गर्न चुनौतीपूर्ण अवस्था भोगिरहेका छन् । कृषि विशेषज्ञका अनुसार पानीले बोट ढलेर डुबेका धान र अन्य बालीको समयमा सही समयमै कटनी र व्यवस्थापन नगरे धानबालीको ठूलो नोक्सान हुन सक्ने सम्भावना रहन्छ ।
किसानहरू भर्खरै भित्र्याउन लागेको धान वर्षाले नष्ट भएपछि आर्थिक र सामाजिक जीवनमा ठूलो असर परेको भन्दै स्थानीय प्रशासन तथा सम्बन्धित निकायलाई तत्काल हस्तक्षेप र राहतको माग गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

